काठमाडौं । आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
विसं १७७९ मा जन्मिएका शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको हो ।
आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै सधैँजस्तै आज पनि प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम ढोका अगाडिको पृथ्वीनारायणको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरिन्छ ।
पृथ्वी जयन्तीका अवसरमा आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चियापान समारोहको आयोजना गरेको छ । राप्रपाले सो समारोहमा प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका शीर्षनेता, पूर्वप्रधानमन्त्री र विभिन्न व्यक्तित्वलाई आमन्त्रण गरेको छ । शाहको जन्मस्थान गोरखामा हरेक वर्ष यो दिवस विशेष कार्यक्रम गरी मनाउने गरिएको छ ।
नेपाली सेनाले पनि पृथ्वी जयन्तीका अवसरमा हरेक वर्ष सैनिक मुख्यालय भवन जङ्गीअड्डा परिसरमा रहेको राष्ट्र निर्माताको पूर्णकदको सालिकमा माल्यार्पण गरी सम्मान प्रकट गर्दै आएको छ ।
तत्कालीन गोरखाका राजा शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग तथा सहभागितामा छरिएर रहेका बाइसे, चौबीसे राज्यलाई एकीकृत गरेका शाहको १८३१ सालमा ५२ वर्षको उमेर निधन भएको थियो । यस दिवसले साझा इतिहास, संस्कृति र गौरवलाई स्मरण गराउँदै विविधताबीचको एकतालाई थप सबल बनाउन प्रेरणा दिने र मुलुकलाई एक सूत्रमा बाँध्ने महान् प्रयत्न गर्ने पुर्खाहरूको योगदानलाई सम्मान गर्ने गरिन्छ ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा उपराष्ट्रपति, सभामुख, विभिन्न दलका नेता र राष्ट्रका विभिन्न विशिष्ट व्यक्तित्वहरूले शुभकामना सन्देश दिएका छन् ।
यसैबीच, पूर्वराजा ज्ञानेन्द्र शाहले देश नै नरहने हो कि भन्ने चिन्ता पर्न थालेको बताएका छन् ।
दिवसको उपलक्ष्यमा सन्देश जारी गर्दै नारायणहिटी राजदरबारबाट बाहिरिएको करिब दुई दशक बित्दा पनि देशले सामना गरिरहनु परेको संकटले चिन्तित तुल्याएको बताएका छन् ।
उनले सबै जात, धर्म र क्षेत्रका नेपालीको साझा प्रतिनिधिका रूपमा काम गरेको राजसंस्था जनताले सुम्पेको जिम्मेवारीबाट विमुख नहुने उल्लेख गरेका छन् ।
देशबाट जनशक्ति पलायन हुँदै जानुले देशको भविष्य बारे निराशाको संकेत दिइरहेको भन्दै अब पुँजी र पुँजीपतिहरू तथा कर्मवीर उद्यमीहरूको समेत पलायन हुन थालेको बतएका छन् ।