काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउनयता नौ वटा गैँडा मरेका छन् । निकुञ्ज क्षेत्र र मध्यवर्ती सामुदायिक वन क्षेत्र एवं आसपासमा ती गैँडा मरेका हुन् ।
साउनयता पाँच वटा भाले र तीन वटा पोथी गैँडा मरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरले जानकारी दिएका छन् ।
एउटाको लिङ्ग पहिचान हुन सकेको छैंन । मरेका गैँडामध्ये एउटा विद्युतीय करेन्ट लागेर हो भने अन्य सबै प्राकृतिक कारणले मरेका उनको भनाइ छ ।
पछिल्लो पटक पुस २२ गते एउटा भाले गैँडा मरेको जनाउँदै मगरले कुमरोज मध्यवर्ती सामुदायिक वनमा अन्दाजी ३५ वर्षको भाले गैँडा मृत भेटिएको बताए ।
हरेक वर्ष गैँडा विभिन्न कारणले मर्ने गरेकामा प्राकृतिक रूपमा, विद्युतीय करेन्ट लागेर तथा एकापसमा जुधेर, दलदलमा फसेरलगायत प्रमुख कारणले मर्ने गरेका निकुञ्जका सूचना अधिकारी मगरले जानकारी दिएका छन् । उनका अनुसार यस निकुञ्जमा पछिल्लो गणनाअनुसार ६९४ वटा गैँडा रहेका छन् ।
यसैबीच, नारायणगढ–माडी–ठोरी हुलाकी सडकखण्डअन्तर्गत चितवन राष्ट्रिय निकुञ्जको सडकमा टायल बिछ्ययाउने काम सुरु गरिएको छ । माडीतर्फबाट ३४ मिटर सडकमा परीक्षणस्वरुप टायल बिछ्याउन थालिएको हो ।
माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालका अनुसार निकुञ्ज क्षेत्रमा टायल बिछ्याउँदा प्रभावकारिता कतिको हुन्छ भन्ने परीक्षणस्वरुप काम सुरु गरिएको हो ।
नगरपालिकाको रु १० लाख लागतमा सडकमा टायल बिछ्याउने काम भइरहेको उहाँले जानकारी दिएका छन् ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मगरका अनुसार वन तथा वातावरण मन्त्रालयमा सहमति भएर विभाग हुँदै पत्र आएपछि टायल बिछ्याउने काम सुरु गर्न अनुमति दिइएको हो ।
माडी नगरपालिकाका उपप्रमुख खेमप्रसाद महतोले निकुञ्जभित्रको सडकमध्ये अहिले ३४ मिटरमामा टायल बिछ्याइने र अन्य सडकलाई स्तरोन्नति गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “सुरुआती समयमा परीक्षणस्वरुप थोरै क्षेत्रमा टायल बिछ्याउन लागिएको छ भने अन्य सडकलाई स्तरोन्नति गर्न सुरु गरिएको छ ।” अहिले टायल लगाउनका लागि आवश्यक संरचना निर्माण सुरु गरिएको उहाँले बताउनुभयो ।
माडीका बासिन्दाले सो सडक कालोपत्र गर्न सरकारलाई दबाब दिँदै आएका छन् । विश्व सम्पदा सूचीमा सूचीकृत निकुञ्जभित्र कालोपत्र गर्न अनुमति लिनुपर्ने भएपछि विकल्पका रूपमा टायल बिछ्याउने सहमतिअनुसार काम अघि बढाउन लागिएको नगरपालिका कार्यालयले जनाएको छ ।