काठमाडौं । आगामी निर्वाचनको तयारी तीव्र बन्दै जाँदा प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिमा सक्रिय हुन चाहने मन्त्रीहरूलाई तत्काल जिम्मेवारीबाट अलग हुन स्पष्ट निर्देशन दिएकी छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले सरकारको निष्पक्षता र विश्वसनीयता जोगाउन यस्तो कदम आवश्यक भएको बताइन्।
सरकारमा बसेर राम्रो काम गरेको स्वीकार गर्दै प्रधानमन्त्री कार्कीले अब नयाँ चरणमा प्रवेश भएको उल्लेख गरिन्। “यदि कोही चुनाव लड्न वा दलगत राजनीतिमा जान चाहनुहुन्छ भने पदमा बसिरहनु उपयुक्त हुँदैन,” भन्दै उनले आफैंले सही निर्णय लिन मन्त्रीहरूलाई आग्रह गरिन्। जेनजी आन्दोलनपछि बनेको अन्तरिम चुनावी सरकारमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय सम्हालिरहेका कुलमान घिसिङमाथि विशेष रूपमा प्रधानमन्त्रीको असन्तुष्टि देखिएको छ। सरकारमा रहँदै उज्यालो नेपाल पार्टीको संरक्षकत्व ग्रहण गरेको र दलगत गतिविधिमा सक्रिय भएको विषयलाई लिएर उनी निरन्तर आलोचित छन्।
उज्यालो नेपाल पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता गरेपछि घिसिङ विभिन्न राजनीतिक कार्यक्रम र बैठकमा देखिँदै आएका थिए। यही कारणले चुनावी सरकारका मन्त्री स्वयं राजनीतिमा लागेको भन्दै निष्पक्षतामाथि प्रश्न उठ्न थालेको छ।
मन्त्रिपरिषद् स्रोतका अनुसार प्रधानमन्त्रीले घिसिङलाई पद छाडे सरकारको छवि जोगिने, निर्वाचन तयारीमा सहजता हुने र नैतिक सन्देश जाने स्पष्ट रूपमा बताएकी थिइन्। बैठकमा अर्थमन्त्री रामेश्वर खनालसहित केही मन्त्रीहरूले प्रधानमन्त्रीको भनाइमा सहमति जनाएका थिए।
घिसिङसँगै सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पनि राजनीतिक आकांक्षा देखाइरहेको चर्चा मन्त्रिपरिषद्मा चलिरहेको छ। यद्यपि उनीहरू घिसिङ जति प्रत्यक्ष रूपमा सक्रिय देखिएका छैनन्।
फागुन २१ गतेमै निर्वाचन गराउने तयारीमा जुटेकी प्रधानमन्त्री कार्की सरकारमाथि कुनै पनि प्रकारको अविश्वास नहोस् भन्नेमा दृढ देखिन्छिन्। त्यसकै निरन्तरता स्वरूप उनले मन्त्रीहरूलाई स्पष्ट सन्देश दिएकी हुन्- राजनीति वा सरकार, अब एउटै छान्नुपर्ने समय आएको छ।