काठमाडौं । किमाथाङ्का अरुण जलविद्युत आयोजना स्वदेशी पूँजीमा निर्माण गर्ने गरी लगानी मोडालिटी तयार भएसँगै मोडालिटीलाई तत्काल अन्तिम रुप दिई पेश गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले निर्देशन दिएका छन् ।
सङ्खुवासभाको भोटकोला गाउँपालिका–२ मा पहिचान गरिएको ४ सय ५४ मेगावाटको किमाथाङ्का अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजना स्वदेशी पूँजीमा निर्माण गर्ने गरी लगानी ढाँचा तयार भएको हो। निर्माण अवधिको व्याजसहित ९७ अर्ब ९४ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजना सरकार र सरकारी निकायहरु संस्थापक रहेको विद्युत उत्पादन कम्पनी आफैंले गर्नेछ ।
आयोजनाको कुल लागतमध्ये ७० प्रतिशत अर्थात् ६८ करोड ५५ लाख ऋणबाट र ३० प्रतिशत अर्थात २९ अर्ब ३८ स्वःपूँजी (इक्विटी)बाट जुटाउने गरी वित्तीय व्यवस्थापनको मोडालिटी तयार गरिएको छ ।
ऊर्जामन्त्री घिसिङले वित्तीय विश्लेषणसहित तयार पारिएको प्रस्तावित लगानी मोडालिटीको जानकारी लिंदै आयोजनाको अनुमानित लागतलाई अद्यावधिक गरी सोही बमोजिम तत्काल वित्तीय व्यवस्थापनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका हुन् ।
विद्युत उत्पादन कम्पनीमा सरकारको ३० प्रतिशत, नेपाल विद्युत प्राधिकरण, कर्मचारी सञ्चय कोष तथा नेपाल टेलिकमको दश दश , नागरिक लगानी कोषको ५, एचआइडिसिएल ४, राष्ट्रिय जीवन बीमा कम्पनीको २ प्रतिशत संस्थापक शेयर स्वामित्व रहेको छ ।
सर्वसाधारणका लागि २९ प्रतिशत सेयर छुट्याइएको छ ।