काठमाडौं । भेनेजुएलाबाट नियन्त्रणमा लिइएका निकोलस मादुरोलाई आज दिउँसो न्युयोर्कस्थित म्यानहटनको संघीय अदालतमा उपस्थित गराइँदै छ।
यो अदालती प्रक्रियासँगै अमेरिकामा उनीविरुद्धको आपराधिक मुद्दा औपचारिक रूपमा सुरु हुनेछ। मादुरो र उनकी श्रीमतीलाई पहिलोपटक न्यायाधीशसामु पेस गर्न लागिएको हो।
मादुरोको यो उपस्थिति प्रक्रियागत रूपमा सामान्य देखिए पनि यसले वर्षौं लम्बिन सक्ने कानुनी लडाइँको ढोका खोल्नेछ। अमेरिकी समयअनुसार सोमबार दिउँसो १२ बजेमा सुरु हुने सुनुवाइमा न्यायाधीशले मादुरोविरुद्ध लागेका आरोपहरू पढेर सुनाउनेछन्।
अमेरिकी सरकारले विगत १५ वर्षदेखि लागुऔषध तस्करीको मुद्दामा अनुसन्धान गरिरहेको थियो, जसमा मादुरोलाई पछिल्लो ६ वर्षदेखि मुख्य प्रतिवादी बनाइएको छ। यो मुद्दाको सुनुवाइ अमेरिकी जिल्ला न्यायाधीश एल्भिन के हेलरस्टिनको इजलासमा हुनेछ, जसले विगत एक दशकभन्दा लामो समयदेखि यस मामिलालाई हेर्दै आएका छन्।
मुद्दाको किनारा नलागेसम्म मादुरोलाई संघीय हिरासतमै राखिने सम्भावना प्रबल छ। उनलाई मेट्रोपोलिटन डिटेन्सन सेन्टरबाट करिब ९ माइल टाढा रहेको अदालतसम्म ल्याउनका लागि कडा सुरक्षा व्यवस्था मिलाइएको छ।
एक आपराधिक प्रतिवादीका रूपमा मादुरोले अन्य अभियुक्त सरह नै कानुनी अधिकारहरू पाउनेछन्। यसमा मौन बस्ने अधिकार र भविष्यमा हुने सुनुवाइमा गवाही दिने वा नदिने भन्ने छनोट गर्ने अधिकार समावेश छ।
बिल क्लिन्टनका पालामा नियुक्त भएका अनुभवी न्यायाधीश हेलरस्टिनले यसअघि पनि धेरै ‘हाइ–प्रोफाइल’ मुद्दाहरू हेरिसकेका कारण यो सुनुवाइलाई विश्वभर चासोका साथ हेरिएको छ।