एजेन्सी । वरिष्ठ लेखक-गीतकार जावेद अख्तर ले आफू “ईश्वरतर्फ फर्किएको” दाबी गर्ने भाइरल भिडियो पूर्ण रूपमा नक्कली भएको बताएका छन्। उनले उक्त भिडियो कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर बनाइएको भन्दै यसले आफ्नो प्रतिष्ठा र विश्वसनीयतामा गम्भीर क्षति पुर्याएको आरोप लगाएका छन्।
आज सामाजिक सञ्जाल X(पूर्व ट्विटर) मा पोस्ट गर्दै जावेद अख्तरले भने,“मेरो कम्प्युटरबाट बनाइएको नक्कली तस्वीर, टाउकोमा टोपी लगाएको देखाएर ‘अन्ततः म भगवानतर्फ फर्किएँ’ भन्ने दाबी गरिएको छ। यो पूर्णतया फोहोरी झूट हो।”उनले यस किसिमको गलत सूचनाका लागि जिम्मेवार व्यक्ति र त्यसलाई अगाडि बढाउनेहरूमाथि साइबर प्रहरीमा उजुरी गर्ने र अदालतसम्म लैजाने विषयमा गम्भीर रूपमा सोचिरहेको पनि बताएका छन्।“यसले मेरो प्रतिष्ठा र विश्वसनीयतालाई क्षति पुर्याएको छ,” उनले लेखेका छन्।
यो पहिलो पटक होइन जब एआईद्वारा बनाइएका नक्कली तस्बिर वा भिडियोले सेलिब्रेटीहरूलाई समस्यामा पारेको हो। यसअघि रश्मिका मन्दाना, कंगना रनौत, क्याट्रिना कैफ, अक्षय कुमार लगायतका कलाकारहरू पनि यस्ता सामग्रीको शिकार भइसकेका छन्।
केही दिनअघि मात्रै जावेद अख्तर र इस्लामिक विद्वान मुफ्ती शमाइल नदवी नयाँदिल्लीको कन्स्टिट्युसन क्लब अफ इन्डिया मा आयोजित ‘भगवान छन् कि छैनन्’ शीर्षकको सार्वजनिक बहसमा सहभागी भएका थिए। सो बहसपछि पनि जावेदको एआई-निर्मित तस्वीर सामाजिक सञ्जालमा फैलिएको थियो।
यस घटनाले अभिनेत्री कंगना रनौत ले केही दिनअघि उठाएको चिन्तालाई पनि पुनः चर्चामा ल्याएको छ। कंगनाका एआई–सम्पादित तस्वीरहरू संसद भवनबाट निस्कँदा नीलो, खैरो र रस्ट रङका सूटमा देखाइएको थियो। यसबारे प्रतिक्रिया दिँदै उनले भनेकी थिइन्,“यी तस्वीरहरू वास्तवमा साडी लगाएका मेरा तस्बिर हुन्। कृपया मेरा तस्वीरमा एआई प्रयोग गर्न बन्द गर्नुहोस्।”उनले थप लेखेकी थिइन्,“हरेक दिन म आफूलाई विभिन्न एआई कपडा, मेकअप र एडिट गरिएका तस्वीरमा देख्छु। अरूलाई सजाउने काम बन्द गर्नुस्। म कसरी देखिन चाहन्छु र के लगाउन चाहन्छु, त्यो मेरो व्यक्तिगत अधिकार हो।”
गत महिना अभिनेत्री श्रीलीला र निवेथा थोमस ले पनि एआई-निर्मित सामग्रीका खतरा र गोपनीयता उल्लङ्घनबारे आवाज उठाउँदै यसको नैतिक प्रयोग र जनचेतना बढाउनुपर्ने आवश्यकता औँल्याएका थिए ।