काठमाडौं । भद्रपुर विमानस्थलमा शुक्रवार राति बुद्ध एयरको जहाज दुर्घटना भएपछि रनवे घटाएर विमानस्थल सञ्चालनमा ल्याइएको छ ।
विमानस्थल प्रमुख किशोरकुमार खत्रीले रन–वे घटाएर विमानस्थललाई सञ्चालनमा ल्याएको जानकारी दिनुभएको छ ।
उहाँका अनुसार दुर्घटनाग्रस्त जहाजको पछाडिको भाग अफ–ट्रयाकमा परेकोले हाल १ हजार ५ सय मिटरको रनवे घटाएर १ हजार ४ सय मिटरमा विमान सञ्चालन भइरहेको छ ।
रनवे छोट्याएर विमान थल सञ्चालन गरिएकोले त्यसको बारेमा जानकारी सबै पाइलटलाई नियमित रूपमा गराइँदै आएको उहाँले जानकारी गराउनुभयो । हाल प्रयोगमा रहेको १ हजार ४ सय मिटर रनवे जहाज सञ्चालनको लागि पर्याप्त रहेको उहाँको भनाइ छ ।
विमान दुर्घटनाको यकिन कारण हालसम्म नखुलेको उहाँले बताउनुभयो । शुक्रबार राति ९ बजेर १० मिनेटमा ल्याण्ड गर्ने क्रममा जहाज रन–वेबाट बाहिर गएको थियो ।
मौसम सफा रहेकोले मौसमको कारण दुर्घटना नभएको उहाँले बताउनुभयो । प्राविधिक कारणले दुर्घटना भएको हुनसक्ने उल्लेख गर्दै उहाँले अनुसन्धानपछि मात्रै वास्तविक कारण खुल्ने बताउनुभयो ।
काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको एटीआर ७२ जहाज अवतरणका क्रममा रनवेको पूर्वतर्फ करिब ३०० मिटर ओभर रन भई दुर्घटनामा परेको थियो ।
उक्त जहाजमा ५१ जना यात्रु, चार जना चालक दलका सदस्य र एक जना इन्जिनियर सवार थिए ।दुर्घटनामा परी विमानका को–पाइलट सुशान्त श्रेष्ठसहित सात जना यात्रु घाइते भएका छन् ।
घाइतेमध्ये को–पाइलट श्रेष्ठको टाउको र अनुहारमा चोट लागेको र भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पतालमा उपचार बताइएको छ । अन्य ६ जना यात्रुहरू भने सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन् ।