काठमाडौं । नेपालमा आजदेखि ‘एसियाली जलपन्छी गणना २०२६’ सुरु भएको छ।
सन् १९८७ देखि नेपालले निरन्तर सहभागिता जनाउँदै आएको यो गणना यस वर्ष जनवरी ३, आजदेखि १८ सम्म सञ्चालन हुनेछ। सिमसार र चरा संरक्षणको महाअभियान राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्व र नेपाल पन्छीविद् संघको संयोजनमा हुने यस गणनाले बसाइँसराइ गर्ने र पानीमा आश्रित चराहरूको संख्या तथा सिमसार क्षेत्रको अवस्थाबारे जानकारी संकलन गर्नेछ।
यस कार्यले जलवायु परिवर्तनको असर र चराहरूको स्वास्थ्य अवस्था बुझ्न महत्त्वपूर्ण भूमिका खेल्ने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट एवं सूचना अधिकारी हरिभद्र आचार्यले जानकारी दिए ।
नेपालका प्रमुख नदी प्रणालीहरू कोशी, बागमती, नारायणी, कर्णाली र महाकालीसहित रामसार सूचीमा सूचीकृत सिमसार क्षेत्र, राष्ट्रिय निकुञ्ज तथा आरक्षभित्रका विभिन्न क्षेत्रमा चरा गणना गरिनेछ। यस वर्षको गणनामा चराविद्, प्रकृतिप्रेमी, स्वयंसेवी र कर्मचारी गरी ४०० भन्दा बढी जनशक्ति परिचालन हुने अनुमान गरिएको छ।
गणनामा क्यामेरा, दूरबीन र टेलिस्कोपको प्रयोग गरी ‘डाइरेक्ट काउन्ट’ विधिमार्फत चराको संख्या संकलन गरिनेछ। यो अभियानले राष्ट्रिय सिमसार नीति र जैविक विविधता रणनीति कार्यान्वयनमा समेत टेवा पुुग्ने विश्वास गरिएको छ।
यस वर्षको गणनाको अन्तिम नतिजा आगामी फेब्रुअरी २ मा मनाइने ‘विश्व सिमसार दिवस’ को अवसरमा सार्वजनिक गर्ने योजना रहेको विभागले जनाएको छ।