काठमाडौं । तोकिएकै समयमा चनाव सम्पन्न गर्ने तयारीका सम्बन्धमा निर्वाचन आयोगले मिडिया ब्रिफिङ गरेको छ ।
ब्रिफिङमा आयोगका पदाधिकारीहरूले निर्वाचनका लागि तयारी तीव्र रूपमा भइरहेको जानकारी दिएका छन्। साथै निष्पक्ष, स्वतन्त्र र विश्वसनीय निर्वाचनका लागि सबै सरोकारवाला पक्षसँग सहकार्य गरिने र मिडियाको जिम्मेवार भूमिकाको अपेक्षा गरिएको पनि उनिहरुले उल्लेख गरेका छन् ।
निर्वाचन आयोगले पूर्व अभ्यास अनुसार नै मतदान हुनुभन्दा ५०, ५२ दिन अगाडि निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानाकारी दिए । यसैबीच, समानुपतिक उम्मेदवबारको सुचि सच्याउनेबारे पनि जानकारी दिएका छन् ।
२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा ६४ दलले ५८ वटा चुनाव चिह्नमा चुनाव लड्ने गरी बन्दसूची आयोगमा पेश गरेका छन् । यसैसन्दर्भमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता भट्टराईले समानुपातिकतर्फ बन्दसूची पेस गरेका दलको चुनाव चिह्न मात्रै मतपत्रमा राख्ने व्यवस्था गरेको पनि बताए । उनले मतपत्र छाप्ने संख्याबारे जानकारी दिदै ४ करोड मतपत्र छापेर फागुन १० गतेसम्म जिल्लामा पठाइने जानकारी दिए ।
मतपत्रको साइज अझै अन्तिम टुङ्गोमा नपुगेकाले छपाइ खर्च कति लाग्छ भन्ने विषयमा अहिले नै यकिन गर्न नसकिने आयोगले जनाएको छ । प्रत्यक्षतर्फको मतपत्र भने निर्वाचन क्षेत्रअनुसार फरक–फरक हुने भट्टराईको भनाई छ । माघको ९ गते निर्वाचन चिन्ह दिने र निर्वाचन चिन्ह दिइसकेपछि मात्रै मत पत्रको बाटो खुल्ने उनले बताए । प्रत्यक्षतर्फको छपाइको काम माघको ९ गतेपछि शुरु हुने छ ।
दलहरूलाई समानुपातिक उम्मेदवारको सूची सच्याउन सात दिनको समय
निर्वाचन आयोगले राजनीतिक दलहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूची संशोधन गर्ने समय पुस २१ देखि २७ गतेसम्म तोकेको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक तर्फको बन्दसूची दलहरूले पुस १३ र १४ गते आयोगमा पेस गरेका थिए । उम्मेदवारहरूको बन्दसूची छानबिन गरी सच्याउनका लागि आयोगले पुस १५ गते आयोगले दलहरूलाई सूचित गरेको थियो ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सात दिनको समयमा नाम फिर्ता लिन चाहने उम्मेदवारले बन्दसूचीबाट फिर्ता लिन निवेदन दिन सक्नेछ । नाम फिर्ता लिनका पुस २८ गते निवेदन दिनुपर्नेछ ।
पुस २९ गते बन्दसूचीबाट नाम फिर्ता लिएको जानकारी आयोगले सम्बन्धित दलहरूलाई जानकारी गराउनेछ । पुस ३० गते फिर्ता गरेका नाममा सोही समूहका अर्का उम्मेदवारलाई मनोनीत गरी नामावली आयोगमा पेस गर्ने समय दिएको छ ।
आयोगले माघ ४ गते उम्मेदवारहरूको नामावली प्रकाशित गर्ने कार्यतालिका छ । माघ ५ देखि १० गतेसम्म बन्दसूचीमा समावेश भएका उम्मेदवारहरूको योग्यता सम्बन्धमा दाबी विरोधको निवेदन दिनुपर्नेछ । माघ ११ देखि १७ गतेसम्म आयोगले प्राप्त उजुरीमाथि छानबिन गरी निर्णय लिनेछ ।
आयोगले माघ १९ गते आयोगले बन्दसूचीबाट उम्मेदवारको नाम हटेको सूचना प्रकाशन गर्नेछ । माघ २० गते आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ ।