काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोहका लागि पार्किङ स्थल निर्धारण गरिएको छ । पुस १० गते (विहीबार) दशरथ रंगशालामा आयोजना हुन लागेको दीक्षान्त सारोहमा सहभागी हुने विद्यार्थी तथा अभिभावकहरुका लागि सवारीसाधन पार्किङ गर्न स्थान तोकिएका हुन् ।
परीक्षा नियन्त्रण कार्यालयका अनुुसार समारोहमा सहभागी हुने विद्यार्थी तथा अधिभावकहरुका लागि टुँडिखेलको दक्षिण तर्फको खोली क्षेत्र, विश्व निकेतन उच्च माध्यामिक विद्यालयको प्राङ्गण र राहदानी विभागको आँगन तोकिएको छ । यस्तै, शिक्षक तथा कर्मचारीहरुका लागि यूनाइटेड ट्रेड सेन्टरको भूमिगत पार्किङ स्थाल तोकिएको छ भने भीआइपी व्यक्तिहरुका लागि आर्मी अफिसर क्लबको पार्किङ स्थल निर्धारण गरिएको छ ।
दीक्षान्त समारोहको समयमा हुन सक्ने सवारी साधानको चापलाई मध्य नजर गर्दै पार्किङ स्थल तोकिएको हो । त्रिविका अनुसार २०८१ साल असार १ गतेदेखि २०८२ साल जेठ ३१ गतेसम्मको एक शैक्षिक सत्रमा स्नातक, अधि स्नातक, स्नातकोत्तर, दर्शनाचार्य तथा विध्यावारिधि (पीएचडी) तह उत्तीर्ण गर्ने विद्यार्थीको संख्या ८९ हजार १९९ छ । जसमध्ये १६ हजार ३८० जना विद्यार्थीले दीक्षान्त समारोहमा सहभागी हुन औपचारिक रूपमा आवेदन दिएका छन् ।
आवेदकहरूमध्ये स्नातक तहमा ११ हजार २३४ जना, अधिस्नातक तहमा १४ जना, स्नातकोत्तर तहमा ४ हजार ८६० जना, दर्शनाचार्य तहमा १२० जना तथा विद्यावारिधि तहमा १५२ जना रहेका छन् । साथै, २३ हजार ९८० जना अभिभावक र संरक्षकले पनि सहभागिताका लागि आवेदन दिएका छन् ।
साथै आमन्त्रित अतिथि तथा अन्य सहभागीहरू समेत गरेर करिब ४२ हजार जनाको दीक्षान्त समारोहमा उपस्थिति रहने अनुमान गरिएको छ । दीक्षान्त समारोहको सन्दर्भ पारेर समारोहमा करिब २५ वटा दीक्षान्त पदक तथा पुरस्कारहरू वितरण गर्ने तालिका रहेको परीक्षा नियन्त्रक प्रा.डा.लक्ष्मण पौडेलले जानकारी दिए ।
