Ph]G;L
सान्टियागो बर्नाबेउको उज्यालो साँझमा रियल म्याड्रिडले फेरि एकपटक आफ्नो दबदबा देखाएको छ ।
किलियन एम्बाप्पे र जुड बेलिङ्घमको गोलमा रियलले ला लिगामा सेभिल्लालाई २–० ले पराजित गर्दै उपाधि होडमा आफू अझै मजबुत रहेको सन्देश दिएको हो ।
खेलको सुरुवातदेखि नै आक्रामक देखिएको रियलले ३८औँ मिनेटमा अग्रता बनायो । रोड्रिगोको सटीक पासमा जुड बेलिङ्घमले गरेको फिनिसले घरेलु दर्शकलाई उभ्यायो । त्यसपछि पनि रियलले खेलको गति नियन्त्रणमै राख्यो ।
दोस्रो हाफमा सेभिल्लामाथि दबाब बढाउँदै गएको रियलका लागि निर्णायक क्षण ८६औँ मिनेटमा आयो । रोड्रिगोमाथि भएको फाउलपछि पाएको पेनाल्टीमा किलियन एम्बाप्पेले चुक गरेनन् ।
यो गोल एम्बाप्पेको चालु क्यालेन्डर वर्षको ५९औँ गोल बन्यो, जससँगै उनले क्रिस्टियानो रोनाल्डोको एक वर्षमा सर्वाधिक गोल गर्ने कीर्तिमान बराबरी गरे ।
विशेष कुरा के भने, यो गोल उनले आफ्नै २७औँ जन्मदिनमा गरे ।
यसअघि एम्बाप्पेको हेडर पोस्टमा लागेर फर्किएको थियो, जसले उनी गोलको खोजीमा कति नजिक थिए भन्ने देखाएको थियो ।
खेलको ६८औँ मिनेटमा बेलिङ्घममाथि फाउल गरेपछि सेभिल्लाका मार्काओले रातो कार्ड पाए ।
१० खेलाडीमा सीमित सेभिल्ला त्यसपछि खेलमा फर्किन सकेन ।
खेलको अन्त्यतिर एम्बाप्पेलाई अर्को पेनाल्टी पाउने संकेत देखिए पनि भिएआरले निर्णय उल्ट्यायो । त्यसले स्कोरलाइनमा कुनै परिवर्तन आएन ।
यस जितसँगै रियल म्याड्रिडले ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको अंक दूरी घटाएर एकमा झारेको छ ।
उपाधि दौड अझ रोचक बन्दै गएको संकेत यस खेलले दिएको छ ।