काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नागरिक समाजका प्रतिनिधि मण्डलले विहीबार भेटघाट गरी देशको वर्तमान राजनीतिक परिस्थिति, लोकतन्त्र तथा संवैधानिक मूल्यको रक्षा, नागरिक समाजको भूमिका र आगामी निर्वाचनका तयारी सम्बन्धी विषयमा ध्यानाकर्षण गराएको छ।
गैरसरकारी संस्था महासङ्घ नेपालका अध्यक्ष अर्जुनकुमार भट्टराई नेतृत्वको प्रतिनिधिमण्डलमा महासङ्घ सल्लाहकार डा. अर्जुन कार्की, शान्तलाल मुल्मी, सलोनी सिंह, निवर्तमान अध्यक्ष रामप्रसाद सुवेदी, उपाध्यक्ष राजेन्द्र शर्मा, महासचिव देवी खड्का, उपमहासचिव किरण थापा र सचिव जजराज शाही लगायतको सहभागिता रहेको थियो ।
प्रतिनिधि मण्डलले भाद्र २३ र २४ गतेको जेन जी आन्दोलनका मृतक र घाइतेप्रति श्रद्धाञ्जली र निष्पक्ष छानबिनको माग गरेको छ । यस्तै, लोकतन्त्र, संविधान र विधिको शासनको संरक्षणमा ध्यान दिनुपर्ने, आगामी निर्वाचन तोकिएको मितिमा स्वच्छ, निस्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न सबै पक्षलाई उत्प्रेरित गर्नुपर्ने, नागरिक समाजमाथि भइरहेका नियोजित भ्रम, आरोप र अविश्वासको अभियान रोक्न समेत आग्रह गरेको छ ।
नारिक समाज राज्यको विपक्षी नभइ साझेदार भएकाले सुशासन, पारदर्शिता, जवाफदेहितालाई ध्यान दिन आग्रह गरेको छ । युवापुस्ताको आवाजलाई नीति निर्माणमा संस्थागत रूपमा समावेश गर्न र न्यायालय तथा संवैधानिक निकायप्रतिको सम्मान कायम राख्न, वर्तमान राजनीतिक संकट समाधानका लागि राष्ट्रिय संवाद संयन्त्र सक्रिय बनाउन सुझाव समेत प्रस्तुत गरेको छ ।
नागरिक समाजको ध्यानाकर्षण पत्र बुझ्दै राष्ट्रपति रामचन्द्र पौडेलले सबै राजनीतिक दल निर्वाचन प्रक्रियामा होमिएकोले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य दायित्व रहेको बताए ।
पौडेलले स्वच्छ, निष्पक्ष र भयमुक्त निर्वाचन सुनिश्चित गर्न सरकार, नागरिक समाज र सबै पक्षको भूमिका समानरूपमा आवश्यक साथै सरकारले अन्य अलमल नपरी निर्वाचन सम्पन्न गरी जनादेश प्राप्त नयाँ सरकारलाई सुम्पिनुपर्ने बताए ।
प्रतिनिधिमण्डलले तयार पारेको ध्यानाकर्षण पत्र राष्ट्रपति कार्यालयका सचिवालयलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।