काठमाण्डौ । पछिल्लो समयमा दलगत पत्रकारिताका कारण नेपाली पत्रकारिताको विश्वसनीयता कमजोर भएको यसका सरोकारवालाहरुले बताएका छन् ।
चन्द्रागिरी स्थित नैकाप भिलेज रिसोर्टमा नेपाल पत्रकार मञ्चले आयोजना गरेको ‘पक्षरहित पत्रकारिताको प्रबर्द्धन अहिलेको आवश्यकता’ बिषय अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले उक्त कुरा बताएका हुन् ।
कार्यक्रममा स्तम्भकार डा.भद्रा पराजुलीले पत्रकारिता समाजको ऐना भएकाले मर्यादित र विश्वसनीय पत्रकारिताले नै लोकतन्त्रलाई बलियो बनाउने बताइन् । उनले लोकतन्त्रमा दलहरुको विकल्प नभएको बताउँदै पत्रकारिताले दलहरुलाई सचेत गराउँदै उनीहरुको गतिविधिहरुको पहरेदारीको काम समेत गर्नुपर्ने बताइन् ।
कार्यक्रममा वरिष्ठ पत्रकार मदन श्रेष्ठले मिडिया हाउस कमजोर हुँदा समाचारमा पनि पक्षधरता आउने बताए । उनले व्यवसायिक पत्रकारिताका निम्ति पार्टीसँग निकट पत्रकारहरुको संगठन आवश्यक नभएको बताए ।
नेपाल पत्रकार मञ्चका अध्यक्ष युवराज विद्रोहीले पत्रकारहरुको संगठनमा समेत दलहरुको बर्चश्व भएकाले स्वतन्त्र पत्रकार नेतृत्वमा आउन चुनौती रहेको बताए । लोकतन्त्रमा पत्रकारले पनि आस्था राख्न पाउने भएतापनि पत्रकारिता गर्दा उसले राजनीतिक आस्थालाई त्याग्नु पर्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार मञ्चका उपाध्यक्ष विमल थापाले देशमा राजनीतिक परिवर्तनसँगै भित्रिएको विकृतिले नेपाली पत्रकारिता क्षेत्रालाई समेत नराम्ररी प्रभाव पारेको बताए । उनले भने, ‘२०४६ सालदेखि भएको राजनीतिक परिवर्तन, ०६२/०६३को जनआन्दोलन लगायतका राजनीतिक परिवर्तनपश्चात पनि नेपाली पत्रकारिताको क्षेत्रलाई कुनै न कुनै ढंगले दलहरुले नै परिचालित गरे, जसको प्रत्यक्ष दोषी हामी पत्रकार स्वयं पनि हौं ।’
अन्तरक्रिया कार्यक्रममा सहभागी पत्रकारहरु राम पौडेल, चन्द्रमणि भट्टराई, शिरोमणि दवाडी, मनिषा अवस्थी, नारायण आचार्य, राजु भण्डारी लगायतले नेपाली पत्रकारितामा राजनीतिक दलहरुको प्रभाव न्यूनीकरणका निम्ति सुझाव प्रस्तुत गरेका थिए ।





