रोमान्टिक कमेडी फिल्म ‘माया प्रीति’को निर्माण घोषणा, निशा अधिकारी कार्यकारी निर्मात्रीको भूमिकामा
लामो समयदेखि अभिनयमा सक्रिय निशा अधिकारी यो फिल्ममार्फत कार्यकारी निर्मात्रीको भूमिकामा पर्दामा फर्कनेछिन्। रोमान्टिक कमेडी फिल्म ‘माया प्रीति’ निर्माण हुने घोषणा गर्दै निशाले सामाजिक संजालमा लेखेकी छिन्, ‘फिल्म माया प्रीतिको कार्यकारी निर्माताको रूपमा नयाँ भूमिकामा रजतपटमा पुनरागमनको घोषणा गर्न पाउँदा उत्साहित छु । यो जादुयी र अविश्वसनीय यात्रा साझा गर्न अधैर्य छु ।’
यो फिल्मको छायांकन आगामी बैशाखको मध्यदेखि सुरु हुनेछ। फिल्मलाई निर्देशन गर्ने जिम्मेवारी अभि श्रेष्ठले लिएका छन्। एचबीओ च्यानलका प्रोजेक्टहरूमा इन्टर्न अनुभव हासिल गरेका श्रेष्ठले यसअघि केही अन्तर्राष्ट्रिय विज्ञापनहरू समेत बनाइसकेका छन्।
फिल्मको क्रिएटिभ डिरेक्टरको भूमिकामा "रेशम फिलिली"बाट चर्चामा आएका प्रणव जोशी रहनेछन्। कार्यकारी निर्माताको रूपमा निशालाई सन्तोष कार्कीले साथ दिनेछन्। हाल यस फिल्मको प्रि-प्रोडक्सनको काम चलिरहेको छ भने कलाकारको छनोट प्रक्रिया जारी छ।
निशाले आफ्नो भूमिकाबारे स्पष्ट पार्दै भनिन्, "पहिलेझैं सिधा अभिनयमा केन्द्रित नभई, पर्दा पछाडि बसेर कार्यकारी निर्मात्रीको रूपमा काम गर्नेछु। मलाई फिल्म निर्माणको कर्पोरेट लेभलमा काम गर्न रुचि छ।"
उनका अनुसार यो फिल्म राम्रो टिमवर्कको नतिजा हो। उनले थपिन्, "हाम्रो समूह निकै उत्साहजनक छ। ‘माया प्रीति’ यो समूहको पहिलो सौगात हो, तर यही टिमले भविष्यमा अरू फिल्म पनि निर्माण गर्ने योजना बनाएको छ।"
निशाले आफ्नो अभिनय यात्रा "मिसन पैसा"बाट थालेकी थिइन् भने पछिल्लो पटक उनलाई फिल्म "आँखा"मा देख्न पाइएको थियो। अब भने उनी नयाँ भूमिकामा, आफ्नो चलचित्रप्रतिको लगावलाई नयाँ उचाइमा पुर्याउन लागिपरेकी छन्।
प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१ १७:५७