काठमाडौं । अहिलेको व्यवस्थामा कुनैपनि अपराध नगरेको व्यक्तिलाई जनताले पत्याउनै नसक्ने वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले बताएका छन् ।
क्यापिटल मिडिया ग्रुपको विशेष कार्यक्रम ‘सिधा कुरा’ मा बोल्दै न्यौपानेले अहिलेको व्यवस्था नराम्रो होइन, अवस्था मात्र नराम्रो भन्ने रवि लामिछानेपनि अहिलेको व्यवस्थामा उपयुक्त पात्र भएको बताए । उनले भने, ‘रवि जि ले १२ भाईको लान्छना लगाएका थिए, अब उनी आफै पनि १३ भाईमा सामेल भए, अब रवि लामिछानेलाई केही हुँदैन । यो व्यवस्था अनुकूल उनले काम गरे ।’
अहिलेको व्यवस्थाका बारेमा कटाक्ष गर्दै न्यौपानेले झुटा, ज्यानमारा तथा देश बेचुवाहरुलाई मात्र जनताले पनि पत्याउने गरेकोमा पछिल्लो घटनाक्रमले रवि लामिछानेलाई पनि जनताले पत्याउनुपर्ने आधार खुलेको बताए ।
रवि लामिछानेलाई राजनीतिमा पाँच भाइ र पत्रकारितामा १३ भाइको संज्ञा दिँदै न्यौपानेले अबका दिनमा कान्तिपुरले पनि रविका विरुद्धमा समाचार नलेख्ने जिकिर गरे ।
लामिछानेले जिवी राईसँग मिलेर मिडियाको प्रबन्ध निर्देशक बनेर शेयर लिएपछि त्यसको श्रोत नखोज्नु गलत भएको तर्क गर्दै न्यौपानेले सहकारीबाट आएको पैसाको शेयर लिएपछि रवि आफू पनि कानुनको दायरामा आउनुपर्ने बताए ।
लामिछानेले शेयर विक्री गरेबापतको रकम १ करोड ८० लाख नलिएको भन्ने तर्क कानुनी रुपले समेत पुष्टी नहुने बताउँदै न्यौपानेले कुनै पनि ठगी मुद्दामा एकपक्षीय मात्र नभइ यसमा जोडिएका सबै अपराधको दायरामा आउने बताए ।
जिवी राईले सहकारीको पैसा अपचलन गरेको पुष्टी भएपनि त्यसको कारोबार रवि लामिछानेसम्म पुगेकाले यो घटनामा लामिछानेले उन्मुक्ति पाउन नसक्ने न्यौपानेले तर्क गरे । उनले भने, ‘विगो जहाँसम्म जान्छ, त्यहाँसम्म कानुन आकर्षित हुन्छ । एउटाले चोरेर ल्यायो, अर्काे पसलेले किन्यो भने,त्यो पसलेसम्म दोषी हुन्छ । त्यसैले अहिलेको घटनामा सहकारीको पैसा ल्याएर मिडिया चलाउनुभयो । मिडियाको स्वीट शेयर रविले लिनुभयो । यसकारण पनि रविले मलाई थाहा छैन भन्न कानुनी रुपमै पनि पाउनुहुन्न । त्यो पहिलेनै हेर्नुपथ्र्याे, यसले कहाँबाट ल्यायो ? कसरी आयो ?’
अहिले देशै विचौलियाले चलाएको हुँदा कम्पनी रजिष्टारको कार्यालय कुन स्वच्छ हुन्छ भनी न्यौपानेले प्रश्न गर्दै भने, ‘माओको नाम राखेर, रावको काम गर्नुछ । प्रचण्ड बालुवाटारमा प्रकट हुँदा देशलाई एशियाको कति माथि पु¥याउछु भने, अहिले तपाई हाम्रो टाउकोका कति ऋण थोपरिएको छ ? यो भन्दा महान काम अरु के होला ? अहिलेका प्रधानमन्त्री महान क्रान्तिकारी योद्धा छन् ।’
रोजगारीको सिर्जना हुन नसक्दा विदेशिनेहरुको लर्काे लागिरहेको बताउँदै न्यौपानेले जनताले भविष्यमा सहयोग होस् भनेर जम्मा गरेको रकम अरबौं हिनामिना हुँदा पनि सरकारले केही गर्न नसक्नु लाजमर्दाे भएको बताए ।