काठमाडौं । सरकारले मौसमी कामदार व्यस्थापन निर्देशिका, २०७९ जारी गरेको छ । सो निर्देशिका जारी भएसँगै बैधानिक रुपमा मौसमी कामदार जानको लागि बाटो खुलेको छ ।
सो निर्देशिका आइतबारबाट (आज) नै लागू भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । वैदेशिक रोजगारीका गन्तव्य मुलुकमा प्राप्त हुन सक्ने मौसमी प्रकृतिका कामको लागि पठाइने गरी छोटो अवधिको वैदेशिक रोजगारलाई सुरक्षित, कम खर्चिलो, मर्यादित र व्यवस्थित बनाउन वाञ्छनीय भएकोले निर्देशिका जारी गरिएको सरकारले उल्लेख गरेको छ ।
सरकारले वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ५२ को उपनियम (१) को अधिकार प्रयोग गरी निर्देशिका जारी गरेको हो । कोरिया, बेलायत, अस्ट्रिया र पोर्चुगलमा मौसमी कामदारका रूपमा जाने नेपालीहरुको संख्या बढेसंगै त्यसलाई व्यावस्थापन गर्न सो निर्देशिका जारी भएको छ।
विभिन्न स्थानीय तहले कोरियास्थित स्थानीय निकायको समन्वयमा कामदार पठाएको पाइएको थियो । तर इपीएस प्रणालीबाहेक अन्य प्रक्रियामार्फत् कामदारका लागि कोरिया जानेलाई वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिन मानेको थिएन ।
अब भने श्रमिकले विना झन्झट मौसमी कामदारको रुपमा जान पाउने भएका हुन् । निर्देशिकामा ‘मौसमी कामदार’ भन्नाले मौसमी रोजगारको लागि वैदेशिक रोजगारीमा गएका नेपाली नागरिक सम्झनुपर्ने उल्लेख गरिएको छ ।
कम्तीमा ३ महिनादेखि बढीमा एक वर्षसम्मको करार अवधि भएको वैदेशिक रोजगार मौसमी रोजगार भनिएको हो । वैदेशिक रोजगार ऐनको अनुकूल हुने गरी नेपाली नागरिकले मौसमी रोजगारीको लागि वैदेशिक रोजगार प्राप्त गर्न सक्ने देखिएमा मन्त्रालयले सम्बन्धित मुलुकको सरकारसँग छलफल गरी द्विपक्षीय श्रम सम्बन्ध स्थापना गर्न सकिने विषय पनि निर्देशिकामा उल्लेख छ।