विराटनगर । गर्भवतीलाई प्रसूतिका लागि अस्पताल ल्याउँदै गरेको एम्बुलेन्स रोकेर बिहीबार राति मोरङको कटहरी गाउँपालिका–२ को नहरनजिक चालकमाथि आक्रमण गरिएको छ।
प्रसव पीडाले छटपटाइरहेकी गर्भवतीलाई बोकेको को १ च ४०७९ नम्बरको एम्बुलेन्स रोकेर चालक विराटनगर महानगरपालिका–७ का ३७ वर्षीय चन्दन मुखियामाथि राति ८ः३० बजेतिर आक्रमण गरिएको हो।
सामुदायिक समाज उत्थान केन्द्रको उक्त एम्बुलेन्समा मोरङको जहदा गाउँपालिका–४ बाट गर्भवतीलाई राखेर प्रसूतिका लागि विराटनगरको कोसी अस्पतालतर्फ ल्याउँदै गर्दा घटना भएको कोसी एम्बुलेन्स चालक संघले जनाएको छ।
आक्रमणबाट एम्बुलेन्स चालक मुखियाको आँखालगयात शरीरका विभिन्न भागमा चोटपटक लागेको छ। सामान्य अवस्थाका उनको कोसी अस्पतालमै उपचार गरिएको छ। एम्बुलेन्समा समेत तोडफोड गरिएको छ। तोडफोडबाट सिसा फुटेको र एम्बुलेन्समा सामान्य क्षति पुगेको संघले जनाएको छ।
चालक मुखियाका अनुसार मोटरसाइकसहित १०÷१२ जनाको समूहमा रहेका युवाले सुरुमा हामी चेकजाँच गर्छौँ भनेर सडकमा एम्बुलेन्स रोके। सिकिस्त अवस्थाकी गर्भवतीलाई अस्पताल पु¥याउन ढिला भइसक्यो भन्नासाथ मदिराको नशामा रहेका युवाहरुले आफूमाथि आक्रमण सुरु गरेको र एम्बुलेन्ससमेत तोडफोड गरिदिएको उनले बताए।
तत्काल परिचालित प्रहरी टोलीले खोजी गर्दा आक्रमणकारीहरु घटनास्थलबाट फरार भइसकेका थिए।
आपतकालीन अवस्थामा बिरामी बोकेर आइरहेको एम्बुलेन्स बिना कारण रोकेर आक्रमण गरिएको भन्दै दोषीमाथि कारबाहीको माग राखेर चालक मुखियाले शुक्रबार जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएका छन्। कोसी एम्बुलेन्स चालक संघले पनि आक्रमणकारीमाथि कडा कारबाही हुनुपर्ने माग गरेको छ।
यसैबीच घटनामा संलग्नमध्ये १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनामा संलग्न भएको आशंकामा कटहरी–३ का २७ वर्षीय अजय कामतलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीका डीएसपी टीकाबहादुर कार्कीले जानकारी दिए।
कार्कीका अनुसार सडकमा रहेका युवाहरुलाई एम्बुलेन्सले ठक्कर दिन खोजेको भन्दै सुरुमा विवाद भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।