काठमाडौं । श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्वका लागि नदी, पोखरी तथा जलाशयका किनार झकिझकाउ बनाइएको छ । तराई, मधेसका विभिन्न ठाउँ र काठमाडौंमा समेत छठ पर्व मनाइँदैछ ।
पोखरी नै पोखरीको सहरका रूपमा चिनिएको जनकपुरधामका पोखरीमा छठ पूजाका लागि झकिझकाउ पारिएको छ । जनकपुरधामको गङ्गासागर, धनुषसागर, अङ्गराज सर, दशरथ तलाउ, जानकी सरोवर, गोरधोइ, अग्निकुण्डलाई सजाइएको छ, भने काठमाडौंको गुह्येश्वरी, कमलपोखरी लगायतका ठाउँमा पनि नदी तथा पोखरी किनारका दायाँबायाँ आकर्षक रुपमा सिँगारेर छठ घाट बनाइएको छ ।
कात्तिक शुक्ल चतुर्थीको दिनदेखि सुरु हुने यो पर्व सप्तमी तिथिका दिन सम्पन्न हुन्छ । यो पर्वमा सूर्यदेवको उपासना गरिन्छ । छठ पर्वको पहिलो दिन हिजो सूर्यलाई अर्घ्य अर्पण गरिएको छ, जसलाई मैथिली भाषामा ‘सझुँका अर्घ्य’ भनिन्छ ।
छठ व्रत गर्ने सबै जना चौथी तिथिका दिन नुहाइधुवाइ गरी चोखो भइ ‘अर्वाअर्वाइन’ खाने गर्छन् । यस दिन व्रत गर्ने महिला र पुरुष नुहाइधुवाइ गरी शुद्ध वस्त्र लगाइ शाकाहारी भोजन खाने गर्छन् । छठको दोस्रो दिन आज कात्तिक शुक्ल पञ्चमीमा बर्तालुहरु उपवास गर्ने गर्छन् ।
बेलुकी माटोले बनाइएको नयाँ चुल्होमा नयाँ माटोको भाँडामा अरबा चामलको खिर बनाउने गरिन्छ । सक्खर हालेर बनाइएको खिर देवीदेवतालाई प्रसादका रुपमा चढाइन्छ र प्रसाद स्वरुप खिर बर्तालुका साथै घरका अरु सदस्यले ग्रहण गर्छन्, यसलाई मिथिलाञ्चलमा खरना भनिन्छ ।
सोमवार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सकिन्छ । छठ पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।