काठमाडौं । सरकारले कर्मचारीको नयाँ तलबमान र ग्रेड स्वीकृत गर्ने निर्णय गरेको छ । साउन २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
सरकारले साउन १ गतेदेखि लागू हुने गरी आर्थिक वर्ष २०७९/०८० को नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको हो । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले विश्व बैंकबाट हरित, उत्पादनशील र समावेशी विकासका लागि लागि प्राप्त हुने एक सय मिलियन अमेरिकी डलर झन्डै १२ अर्ब ७० करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको बताए ।
उनले जापान सरकारबाट पूर्वी तराईको सिँचाइ प्रणाली पुनस्र्थापना आयोजनाका लागि प्राप्त हुने जापानी ऐन २२ सय ५६ मिलियन अर्थात् झन्डै दुई अर्ब १३ करोड ६४ लाख रुपैयाँ अनुदान सहायता पनि सरकारले स्वीकार गरेको बताए ।
प्रवक्ता कार्कीले मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७८।०७९ का लागि मन्त्रालय अन्तर्गत विभिन्न आयोजनाका लागि राजपत्राङ्कित श्रेणीका पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि गरेको बताए ।
आउँदो भदौ ७ देखि ९ गतेसम्म संयुक्त राष्ट्र सङ्घको आयोजनामा थाइल्यान्डको राजधानी बैंककमा हुने दक्षिण एक्सेन्ज एन्ड प्रिपेरिङ स्मुथ ट्रान्जिसन स्टाटेजी कार्यक्रममा सहभागीका लागि राष्ट्रिय योजना आयोगका सचिवलाई स्वीकृत दिने निर्णय भएको छ ।
प्रवक्ता कार्कीले आर्थिक वर्ष २०७८र०७९ का लागि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत राजपत्राङ्कित श्रेणीका ५१ वटा पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको बताए ।
कानुन तथा संसदीय मामिला मन्त्रालय अन्तर्गत राजपत्राङ्कित श्रेणीका ५८ वटा पदको स्थायी दरबन्दी र कृषि तथा पशु विकास मन्त्रालय अन्तर्गत राजपत्राङ्कित श्रेणीका २० वटा पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको छ ।
प्रवक्ता कार्कीले सरकारले सशस्त्र प्रहरी सेवा आयोगको सदस्य तोक्ने निर्णय गरेको पनि बताए । उनका अनुसार विदेशी नागरिक नासिम नाइनको नागरिकता खारेज गर्ने निर्णय भएको छ ।
प्रवक्ता कार्कीले सप्तकोसी नदीमा आएको बाढीबाट बढी क्षति भएका भौगोलिक क्षेत्रलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारले निर्णय गरेको बताए ।
उनले पर्वतको कुश्मा नगरपालिका ५ मा रहेको१३ रोपनी १५ आना जग्गामध्ये जिल्ला समन्वय समिति पर्वतले भोगचलान गरेको ६ रोपनी ६ आना दुई पैसा एक दाम रोपनी जग्गामध्ये दुई रोपनी आठ आना तीन पैसा तीन दाम रोपनी जग्गा कुश्मा नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि उपयोग गर्न स्वीकृत दिने निर्णय गरेको बताए ।
सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत राजपत्राङ्कित श्रेणीका तीन सय ५५ वटा पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने भएको छ । त्यस्तै आर्थिक वर्ष २०७८र०७९ का लागि युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत राजपत्राङ्कित श्रेणीका १५ वटा पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिए ।
राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन पहिलो निर्देशिका २०७९ स्वीकृत गर्ने सरकारले निर्णय गरेको बताए ।सरकारले भारतीय सेनाका स्थल सेना अध्यक्षलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा पठाउने निर्णय पनि गरेको छ ।
आर्थिक वर्ष २०७८/७९ का लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत राजपत्राङ्कित श्रेणीका २३ वटा पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय सरकारले गरेको छ । त्यस्तै नेपाल स्वास्थ्य सेवा नियमावली २०५५ को अनुसूची ३ को हेरफेर गर्ने र राजपत्रमा सूचना प्रकाशन गर्ने निर्णय भएको छ ।