काठमाडौं । चीनले केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनका लागि अनुदान सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।
साथै नेपाललाई भौतिक पूर्वाधार, विपद् व्यवस्थापन र स्वास्थ्य सामग्रीलगायतका विभिन्न शीर्षकमा चीनले १५ अर्ब रुपैयाँभन्दा बढी सहयोग गर्ने भएको छ । चीन भ्रमणमा रहेका परराष्ट्र मन्त्री डाक्टर नारायण खड्कासँग हिजो भएको भेटवार्तामा चीनका विदेश मन्त्री वाङ यीले यो घोषणा गरेका हुन् ।
भेटवार्तामा नेपाल-चीन सम्बन्ध र सहयोगका समग्र पक्षको समीक्षा गर्दै व्यापार, ‘कनेक्टिभिटी’, लगानी, स्वास्थ्य, पर्यटन, गरिबी निवारण, कृषि, विपद् व्यवस्थापन, शिक्षा, संस्कृतिलगायतका विभिन्न क्षेत्रका सहयोगलाई थप प्रवर्द्धन गर्ने सहमति भएको बेइजिङमा रहेको नेपाली दूतावासले जनाएको छ।
दूतावासका अनुसार चीन र नेपालबीच एक दर्जनभन्दा बढी विषयमा सहमति भएका छन् । चीनले काठमाडौं चक्रपथ सुधार आयोजनाको दोस्रो चरणको निर्माण कार्य छिट्टै सुरु गर्ने आश्वासन दिएको छ ।
विदेश मन्त्री वाङले यसअघि सन् २०२२ को मार्चमा नेपाल भ्रमणमा सहमति गरेको नेपाल–चीन क्रस बोर्डर प्रसारण लाइनको पूर्वसम्भाव्यता अध्ययनका लागि पनि सहयोग गर्ने आश्वासन दिएका थिए ।