काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) कि सांसद रेनुका गुरुङले सोमबार राति आफ्नो घरको गेटभित्र बम पड्किएको बताएकी छन् ।
मंगलबार प्रतिनधिसभाको शून्य समयमा बोल्दै उनले आफ्नो घरको गेटभित्र बम पड्किएको दाबी गरेकी हुन् । उनले सुरक्षाको कारण दखाउँदै आजीवन निजी सुरक्षाकर्मीको व्यवस्था गर्न गृहमन्त्री र सरकारसँग माग राखेकी छन् ।
संसदको शून्य समयमा संसद गुरुङले बोलेको विवरण यस्तो छ ः
मेरो देशलाई शिरमा बोकेर हिँड्ने म नेपाल आमाकी छोरी हुँ । मैले जिन्दगीभरि देश र समाजको लागि सेवा गरेवापत म संग प्रशांसापत्र र प्रमाणपत्रको थुप्रो छ । हिजो राति ८ बजेर २५ मिनेट जाँदा मैले देशलाई माया गरेको मन नपराउने देशद्रोहीहरुले मेरो घरको गेटभित्र बम पड्काए । घरका सबै आतंकित भए । झ्याल खोलेर हेरेँ, दुई जना लोग्ने मानिस मोटरसाइकलमा गएको देखेँ । तर, अँध्यारो भएकोले चिन्न सकिन । महाराजगञ्जको थानाको नम्बर खोजेर फोन गरेँ, माननीय गृहमन्त्रीलाई फोन गरेँ, फोन उठेन । प्रहरी आएपछि म पनि आँगनमा ओर्लिएँ ।
कम्पाउण्डभित्र रकेट बमको खोल भेटियो, जुन प्रहरीले लिएर गएको छ । त्यसपछि माननीय उपसभामुख पुष्पा भुसाललाई फोन गरेँ, सान्त्वना दिनुभयो । अतः म संघीय सांसद र कार्यपालिकाको सदस्य भइसकेकाले म र मेरो घर परिवारको सुरक्षार्थ पूर्व राज्यमन्त्रीले पाउनुपर्ने अनिवार्य पीएसओको आजीवन व्यवस्थाका लागि गृहमन्त्री र नेपाल सरकारसँग माग गर्दछु ।
तर प्रहरीले भने सांसद रेनुका गुरुङको घरमा भएको भनिएको घटनाबारे अहिले सम्म कुनै जानकारी नआएको तथा कुनै सूचना नआएको जनाएको छ ।