काठमाडौं । सौन्दर्य प्रतियोगिताको नाममा बालिका बलात्कार गरेको अभियोगमा पक्राउ परेका मनोज पाण्डेलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत, काठमाडौंले उनलाई हिरासतमा राखेर मानवबेचबिखन तथा ओसारपसार र बालबालिकाविरुद्धको कसूरमा अनुसन्धानका लागि अनुमति दिएको काठमाडौं प्रहरी परिसर, टेकुका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए ।
पीडितको बयानपछि अदालतले अनुसन्धानका लागि प्रहरीलाई अनुमति दिएको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदिप गिरीका अनुसार पाण्डेविरुद्ध दुई जनाले किटानी जाहेरी दिएका छन् ।
गत बुधबार सामाजिक सञ्जाल टिकटकमार्फत बलात्कारको घटनाबारे खुलासा गरेकी युवतीले मानवबेचिबखन तथा ओसारपसार ऐनविरुद्धको कसूरमा जाहेरी दिएकी छन् ।
आइतबार प्रहरी सम्पर्कमा पुगेकी अर्की नाबालिकाले बालबालिका ऐनविरुद्धको कसूर गरेको भन्दै जाहेरी दिएका छन् ।
मिस ग्लोबल इन्टरनेशनल नामक प्रतियोगिताका आयोजक ‘मोडल ग्लोबल भिसाज कन्सल्टेन्सी’का सञ्चालक पाण्डेले उनलाई बानेश्वरको एभरेष्ट होटलमा बलात्कार गरेको पीडितको भनाइ छ । त्यसदिन पाण्डेले तस्वीर र भिडियो खिचेर ६ महिनासम्म ब्ल्याकमेल गर्दै जबरजस्ती करणी गरेको उनले भिडियोमा खुलाएकी छन् ।
तर आफूमाथि भएको यौन हिंसाबारे कानुनी प्रक्रियामा जान उनले कसैबाट पनि सहयोग पाएकी थिइनन्। प्रतियोगिताकी कोरियोग्राफरसमेत रहेकी पूर्वमिस नेपाल माल्भिका सुब्बाले समेत आफूलाई सहयोग नगरेको उनको गुनासो छ ।
सुब्बाले त्यसबेला सहयोग गर्न नसकेकोमा माफी पनि मागेकी छन् । प्रहरीले उनलाई पनि घटनाको साक्षीका रुपमा बयान लिने तयारी गरेको छ ।