काठमाडौं । नेपालमा चालु आर्थिक वर्षको ६ महिनामा व्यापार घाटा वृद्वि भएको छ । नेपाल राष्ट्र बैंकले आज जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनबाट नेपालको व्यापार घाटा ४६ दशमलव ६ प्रतिशतले वृद्वि भएको हो ।
पौषसम्म कुल वस्तु व्यापार घाटा ४६.६ प्रतिशतले बढेर रु. ८८० अर्ब ४९ करोड पुगेको छ। गत वर्ष यही अवधिसम्म यस्तो घाटा ५.८ प्रतिशतले घटेको थियो।
समीक्षा अवधिमा निर्यात–आयात अनुपात ११.९ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो अनुपात ९.२ प्रतिशत थियो ।
चालु आर्थिक वर्ष ६ महिनामा कुल वस्तु निर्यात ९५.५ प्रतिशतले वृद्धि भएर ११८ अर्ब ८५ करोड पुगेको छ। गत वर्ष यही महिना यस्तो निर्यात ६.१ प्रतिशतले वृद्धि भएको थियो।
समीक्षा अवधिमा कुल वस्तु आयात ५१.१ प्रतिशतले वृद्धि भई रु. ९९९ अर्ब ३४ करोड पुगेको छ। गत वर्ष यही अवधिमा यस्तो आयात ४.८ प्रतिशतले घटेको थियो।
समीक्षा अवधिमा चालु खाता ३५४ अर्ब ६९ करोड रुपैयाँले घाटामा छ । अघिल्लो वर्ष यही अवधिमा चालु खाता रु. ५१ अर्ब ६८ करोडले घाटा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्ष सोही अवधिमा ४४ करोड ८ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा बढेर २ अर्ब ९७ करोडले घाटामा रहेको छ । समीक्षा अवधिमा शोधनान्तर स्थिति रु. २४१ अर्ब २३ करोडले घाटामा रहेको छ ।
अघिल्लो वर्ष सोही अवधिमा शोधनान्तर स्थिति रु. १२४ अर्ब ९२ करोडले बचतमा रहेको थियो । समीक्षा अवधिमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ५.५ प्रतिशतले कमी आई रु. ४६८ अर्ब ४५ करोड कायम भएको छ ।
अघिल्लो वर्ष सोही अवधिमा विप्रेषण आप्रवाह ११.१ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.२ प्रतिशतले कमी आई ३ अर्ब ९३ करोड पुगेको छ ।
अघिल्लो वर्ष सोही अवधिमा यस्तो आप्रवाह ६.७ प्रतिशतले बढेको थियो ।