काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। पृथ्वी राजमार्ग, वीपी राजमार्ग र कान्तिलोकपथसहित विभिन्न सडकमा यातायात प्रभावित हुँदा यात्रु तथा सवारीसाधनले सास्ती खेप्नुपरेको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार धादिङको गजुरी गाउँपालिका-५ गलौदीस्थित पृथ्वी राजमार्गमा त्रिशूली नदीले सडक कटान गरेपछि यातायात अवरुद्ध भएको छ। त्यस्तै, काभ्रेको रोशी क्षेत्रमा आएको बाढीका कारण वीपी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ।
ललितपुरको बागमती गाउँपालिका-३ टाकुर्चेस्थित कान्तिलोकपथमा पहिरो खसेपछि यातायात सञ्चालन हुन सकेको छैन। गुल्मीको कालीगण्डकी गाउँपालिका-२ राक्सेमा पहिरो खसेपछि कालीगण्डकी करिडोर पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। सल्यानको बनगाड कुपिण्डे नगरपालिका-११ मा पहिरो जाँदा बालुवासंग्रही सडकसमेत बन्द भएको प्रहरीले जनाएको छ।
यसैगरी, धादिङको धुनिबेँसी नगरपालिका-९ मा पहिरो खसेपछि त्रिभुवन राजपथ एकतर्फी सञ्चालनमा रहेको छ। नवलपरासीस्थित कालीगण्डकी करिडोर, म्याग्दीको बेनी-जोमसोम सडक तथा मनाङमा बेँसीसहर हुँदै खाङसारसम्म पुग्ने सडकमा पनि एकतर्फी यातायात सञ्चालन भइरहेको छ।
कर्णाली प्रदेशको डोल्पास्थित त्रिपुरासुन्दरी नगरपालिका-९ मा पहिरो खसेपछि भेरी करिडोर पनि एकतर्फी सञ्चालनमा रहेको छ। यस्तै, सुरुवामा गत भदौ १० गते आएको बाढीले बगाएको राजमार्गसमेत अझै सञ्चालनमा आउन सकेको छैन।
लगातारको वर्षाले सडक पूर्वाधारमा क्षति पुग्नुका साथै आवागमन प्रभावित भएपछि यात्रु तथा चालकलाई सतर्कता अपनाउनुपर्ने अवस्था छ। बाढी र पहिरोको जोखिम रहेका सडकखण्डमा यात्रा गर्नुअघि सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आवश्यक देखिएको छ।