काठमाडौं । वर्षा र हिमपातले देशका विभिन्न ठाउँको जनजीवन कष्टकर भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावसँगै काठमाडौं उपत्यकाका शिवपुरी, फुल्चोकी र चन्द्रागिरिका साथै मकवानपुरको दामन र सिमभञ्ज्याङमा हिउँ परेको छ ।
हिमपात धेरै भएका क्षेत्रमा यातायात सेवा समेत प्रभावित भएका छन् । त्रिभुवन राजपथको सिमभञ्ज्याङ्ग र अघोरमा बाक्लो हिउँ परेपछि हेटौँडा–काठमाण्डौ यातायात बन्द भएको पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ ।
त्रिभुवन राजपथमा यातायात बन्द भए पनि पूर्व–पश्चिम राजमार्ग र भीमफेदी–कुलेखानीतर्फ यातायात सेवा चलिरहेको प्रहरीले जनाएको छ । सोलुखुम्बुको सदरमुकाम सल्लेरी लगायतका ठाउँमा हिमपात हुँदा गाडी चल्न नसकेको यातायात व्यवसायी दोर्जी शेर्पाले बताए ।
त्यस्तै बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग, सतबाँझ क्षेत्रमा भएको हिमपातले महाकाली राजमार्ग र अनारखोली, खोड्पे क्षेत्रको हिमपातले दशरथचन्द राजमार्ग अवरुद्ध भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।
यस्तै केही दिनदेखि मौसममा आएको परिवर्तनका कारण हिजो रातिदेखि मुस्ताङको सबै क्षेत्रमा हिमपात भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । पाँच वटा गाउँपालिका रहेको जिल्लाको माथिल्लो क्षेत्रसहित सबै ठाउँमा हिमपात भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।
वर्षा र हिमपातले तापक्रम घटेको हुँदा अत्यधिक चिसो भइरहेको स्थानीयको भनाइ छ । मुस्ताङमा यो सिजनको चौथो पटक भारी हिमपात भएको हो ।
हिमपातका कारण सडकमा हिउँ जमेकाले बेनी–जोमसोम–कोरला सडक खण्डको लेतेदेखि माथिको खण्ड अवरुद्ध बनेको प्रजिअ शर्माले बताए । यसैबीच कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लामा हिमपातका कारण हवाई उडान प्रभावित भएको छ ।
नेपालगञ्ज र सुर्खेतबाट उडानमार्फत गरिँदै आएको खाद्यान्न ढुवानी हिमपातका कारण रोकिएको छ । वर्षा र हिमपातले जनजीवन कष्टकर भए पनि किसान भने खुसी भएका छन् । हिमपात र वर्षाले गहुँलगायत हिउँदेबाली सप्रिने भएकाले किसान खुसी भएका हुन् ।