काठमाडौं । काठमाडौंका मुख्य बजार कालीमाटीसहित विभिन्न तरकारी बजारमा यो वर्ष कुरिलोको मूल्य बढेको छ । अघिल्लो वर्षसम्म खुद्रामा किलोको एक हजार रुपैयाँसम्ममा बिक्री हुँदै आएको कुरिलोको मूल्य यसपालि बढेको छ ।
कुरिलो आज किलोको ४ हजार रुपैयाँमा बिक्री भइरहेको व्यापारीहरुले बताएका छन् । अहिले बजारमा कुरिलो अभाव रहेको कालीमाटीका व्यापारी राजन भेसवालले बताए । केही दिनदेखि बजारमा कुरिलो नै पाइएको छैन यसले गर्दा उपभोक्ता किन्न आए पनि बजारमा कुरिलोको अभाव भएकाले बेच्न नपाएको व्यापारी भेसवालको भनाइ छ ।
कोरोना सङ्क्रमितले कुरिलो माग गर्ने भएकाले अहिले माग बढेको तर कुरिलोको अफसिजन भएकाले अभाव छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले हरेक दिन अपडेट गर्ने मूल्य सूचीमा कुरिलोको मूल्य अपडेट छैन्।
बजारमा मूल्य बढेपछि व्यापारीले ‘दुई–चार मुठा ल्याएर बेच्ने, ठूलो परिमाणमा बिक्री वितरण नगर्ने भएकाले अपडेट नगरिएको समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए। अहिले बजारमा आएको कुरिलो स्थानीय उत्पादन नभएकाले मूल्य बढेको हुनसक्ने श्रेष्ठको भनाइ छ ।
भोजपुर, खोटाङ, ओखलढुङ्गा, झापा, मोरङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, भक्तपुर, ललितपुर, काठमाडौं, नुवाकोट, धादिङ, लमजुङ, तनहुँ, कास्की, पर्वत, नवलपुर, दाङ, बाँके, बर्दिया, गुल्मी, नवलपरासी, प्युठान, जाजरकोट लगायत कर्णालीको केही क्षेत्रसमेत कुरिलो उत्पादन हुने गरेको छ ।