काठमाडौं । बलिउडका दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। गोवास्थित आफ्नै निवासमा बिहीबार बिहान अचेत अवस्थामा भेटिएका पाटेकरलाई मणिपाल अस्पताल लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। उनको निधन बिहान ५ः२० बजे भएको जनाइएको छ।
अस्पतालका अनुसार पाटेकरलाई गम्भीर कार्डियाक अरेस्ट भएको थियो। चिकित्सकले करिब ४५ मिनेटसम्म लगातार सीपीआर गरेर उनलाई बचाउने प्रयास गरेका थिए। तर उपचार प्रयास सफल हुन सकेन। उनको निधनपछि चिकित्सकीय कानुनी प्रक्रिया अघि बढाइएको र पोस्टमार्टम गरिने जनाइएको छ।
विश्वनाथ पाटेकर नामबाट १ जनवरी १९५१ मा महाराष्ट्रमा जन्मिएका नाना पाटेकरले सन् १९७८ मा प्रदर्शन भएको ‘गमन’बाट फिल्मी यात्रा सुरु गरेका थिए। त्यसपछि उनले हिन्दी तथा मराठी चलचित्रमा चार दशकभन्दा लामो समय अभिनय गरे।
तीव्र संवाद प्रस्तुत गर्ने शैली, प्रभावशाली अभिनय र जटिल पात्रलाई जीवन्त बनाउने क्षमताका कारण पाटेकरले भारतीय चलचित्र क्षेत्रमा छुट्टै पहिचान बनाएका थिए। ‘परिन्दा’, ‘क्रान्तिवीर’, ‘अग्निसाक्षी’, ‘अब तक छप्पन’ र ‘वेलकम’लगायत चलचित्रमा उनको अभिनय चर्चित रह्यो।
उनले अभिनयसँगै निर्देशन र रंगमञ्चमा समेत काम गरेका थिए। ‘क्रान्तिवीर’का लागि उत्कृष्ट अभिनेताको राष्ट्रिय चलचित्र पुरस्कार तथा ‘अग्निसाक्षी’का लागि सहायक अभिनेताको राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेका थिए। सन् २०१३ मा भारत सरकारले उनलाई पद्मश्रीबाट सम्मानित गरेको थियो।
नाना पाटेकरको निधनको खबरसँगै भारतीय चलचित्र क्षेत्रमा शोक व्यक्त हुन थालेको छ। चार दशकभन्दा लामो अभिनय यात्रामा उनले गम्भीर, सामाजिक तथा व्यावसायिक चलचित्रका विभिन्न भूमिकामार्फत दर्शकमाझ आफ्नो विशिष्ट छाप छाडेका थिए।