काठमाडौं । सरकारले संघीय संसद्मा विधेयक दर्ता गर्ने क्रमलाई तीव्र बनाएको छ । पछिल्लो सात दिनमै सरकारले विभिन्न १० वटा विधेयक संसद्मा दर्ता गरेको छ ।
मंगलबार मात्रै सरकारले तीन वटा विधेयक संसद्मा दर्ता गरेको हो । रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक तथा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक दर्ता भएका छन् ।
यसअघि असोज ५ गते पाँच वटा विधेयक संसद्मा दर्ता भएका थिए । तीमध्ये डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी दोस्रो संशोधन विधेयक छन् । त्यस्तै, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार पहिलो संशोधन विधेयक र आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री वितरण नियन्त्रणसम्बन्धी पहिलो संशोधन विधेयक पनि सोही क्रममा दर्ता भएका छन् ।
असोज २ गते निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक तथा असोज १ गते फोहोरमैला व्यवस्थापन विधेयक दर्ता गरिएको थियो ।सरकारले कानुन निर्माणको प्रक्रियालाई गति दिने लक्ष्यसहित विधेयकहरू संसद्मा अघि बढाइरहेको जनाएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले चालु वर्षमा १६६ वटा कानून निर्माण गर्ने सरकारको लक्ष्य रहेको जानकारी दिएकी छन् ।
प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय क्षेत्राधिकार बाहिरको सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो उपयोगसम्बन्धी बीबीएनजे सम्झौतामाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले अहिलेसम्म ४० भन्दा बढी विधेयक दर्ता भइसकेको बताएकी हुन् ।
सरकारले कानून निर्माणको गति बढाएसँगै अब संसद्मा दर्ता भएका विधेयकहरू समितिगत छलफल, संशोधन र पारित हुने प्रक्रियामा कति प्रभावकारी रूपमा अघि बढ्छन् भन्ने विषय महत्वपूर्ण हुनेछ।