काठमाडौं । खाना पकाउने ग्यासको अभाव र कालोबजारीको गुनासो बढिरहेका बेला भक्तपुरमा स्थानीय प्रशासनले अनुगमन तीव्र बनाएको छ। जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६० वटा ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण गरेको छ।
प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काको नेतृत्वमा बिहीबार साँझ गरिएको अनुगमनका क्रममा ब्याङ्क्वेटमा राखिएका ग्यास सिलिन्डर फेला परेका थिए। प्रशासनको अनुरोधपछि ती सिलिन्डर आवश्यक परेका सर्वसाधारणलाई वितरण गरिएको हो।
ब्याङ्क्वेट सञ्चालकले असोज महिनामा पार्टी प्यालेसमा विभिन्न भोज तथा कार्यक्रम धेरै हुने भएकाले चितवन पुगेर बिहीबार मात्रै ग्यास ल्याएको बताएका छन्। तर बजारमा ग्यासको अभाव देखिएको अवस्थामा ठूलो परिमाणमा सिलिन्डर भण्डारण गरिएको भेटिएपछि प्रशासनले तत्काल उपभोक्तालाई वितरण गरेको हो।
यसैबीच, भक्तपुर प्रहरीले ग्यास कालोबजारी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। भक्तपुर नगरपालिका-२ इटाछेबाट १४ वटा सगर ग्यास सिलिन्डरसहित ४१ वर्षीय राजेश कर्मचार्य पक्राउ परेका छन्। त्यस्तै, सूर्यविनायक नगरपालिका-३ ब्रह्मनगरस्थित सर्लाही जनरल स्टोरका सञ्चालक २५ वर्षीय उमेश साहलाई पनि प्रहरीले पक्राउ गरेको छ।
साहले ग्यास सिलिन्डर प्रतिसिलिन्डर २ हजार ८ सय रुपैयाँमा बिक्री गर्दै आएको सूचना पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ। उनको पसलबाट ७५ वटा हिमाल ग्यासका सिलिन्डरसमेत जफत गरिएको छ। ग्यासको आपूर्ति असहज बनेका बेला अभावको फाइदा उठाउँदै कालोबजारी र कृत्रिम अभाव सिर्जना गर्नेविरुद्ध प्रशासनले अनुगमन र कारबाहीलाई तीव्रता दिएको हो।
एकातर्फ उपभोक्ता लामो लाइनमा बसेर ग्यास पाउन संघर्ष गरिरहेका छन् भने अर्कोतर्फ लुकाएर राखिएका तथा महँगो मूल्यमा बिक्री गरिएका सिलिन्डर फेला पर्न थालेका छन्। भक्तपुरमा गरिएको पछिल्लो कारबाहीले ग्यासको वास्तविक वितरण प्रणाली र बजार अनुगमनमाथि समेत प्रश्न उठाएको छ।