काठमाडौं । आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी। वैदिक सनातन धर्मावलम्बीले घरघरमा पवित्र कुश भित्र्याएर तथा जीवित बाबुलाई सम्मान गर्दै यो पर्व मनाउँदैछन्। यही दिनलाई बाबुको मुख हेर्ने दिनका रूपमा समेत मनाउने गरिन्छ।
शास्त्रीय मान्यताअनुसार भाद्रकृष्ण औँसीका दिन विधिपूर्वक पूजा गरी उखेलेर ल्याइएको कुशलाई घरमा राख्दा परिवारमा सुख, शान्ति र कल्याण हुने विश्वास छ। आज उखेलिएको कुश वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गर्न सकिने धार्मिक मान्यता रहेको छ।
सनातन परम्परामा कुशलाई पवित्र वनस्पतिका रूपमा लिइन्छ। कुशसँगै तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्ने धार्मिक विश्वास छ। त्यसैले आज घरघरमा भित्र्याइएको कुश वर्षभर हुने पूजा, धार्मिक अनुष्ठान तथा पितृकार्यमा प्रयोग गरिन्छ।
कुशेऔँसीलाई बाबुप्रति सम्मान र कृतज्ञता प्रकट गर्ने विशेष दिनका रूपमा पनि लिइन्छ। जीवित बाबुलाई छोराछोरीले आफूलाई मन पर्ने मिठाइ तथा भोजन खुवाउँदै सम्मान गर्ने र बाबुको आशीर्वाद लिने गर्छन्। बाबु दिवंगत भइसकेकाहरू भने पवित्र तीर्थस्थलमा पुगेर उहाँको नाममा तर्पण, पिण्डदान, श्राद्ध तथा सिदादान गर्ने गर्छन्। धार्मिक मान्यताअनुसार यसरी पितृको स्मरण र सम्मान गर्दा पुण्य प्राप्त हुने विश्वास छ।
काठमाडौंको गोकर्णेश्वरस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा आज विशेष मेला लागेको छ। उत्तरगया भनेर समेत चिनिने गोकर्णमा दिवंगत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्न बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। यही कारण भाद्रकृष्ण औँसीलाई गोकर्णे औँसीका रूपमा समेत चिनिन्छ।
त्यस्तै, रसुवा र नुवाकोटको संगमस्थल वेत्रावतीमा पनि कुशेऔँसीका अवसरमा पितृस्मरण गर्ने परम्परा छ। तर यस वर्ष भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण वेत्रावतीमा मेला सञ्चालन हुने वा नहुने विषयमा अन्योल देखिएको छ।
‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताले बाबुलाई देवतासरह सम्मान गर्नुपर्ने संस्कारलाई जोड दिन्छ। त्यसैले कुशेऔँसी केवल एउटा धार्मिक पर्व मात्र नभई जन्म, पालनपोषण र जीवन निर्माणमा बाबुले दिएको योगदानप्रति सम्मान र कृतज्ञता व्यक्त गर्ने सांस्कृतिक अवसरसमेत हो।
जीवित बाबुको सम्मान, दिवंगत बाबुको स्मरण र पितृप्रति श्रद्धा व्यक्त गर्दै आज देशभर कुशेऔँसी पर्व मनाइँदैछ।