काठमाडौं । नयाँ दिल्लीमा भदौ २७ र २८ गते आयोजना हुने ब्रिक्स शिखर सम्मेलनका लागि भारतले सुरक्षा व्यवस्थालाई उच्चतम सतर्कतामा राखेको छ। सम्मेलनमा विश्वका शक्तिशाली मुलुकका राष्ट्रप्रमुख तथा उच्च अधिकारी सहभागी हुने भएपछि नयाँ दिल्लीमा आकाशदेखि सडकसम्म बहुस्तरीय सुरक्षा घेरा तयार पारिएको हो।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनियाँ राष्ट्रपति सी जिनपिङ, इरानी राष्ट्रपति मसुद पेजेस्कियानलगायत २० भन्दा बढी देशका नेता तथा प्रतिनिधि सम्मेलनमा सहभागी हुँदैछन्। उच्च सुरक्षा जोखिम भएका भीआईपीको उपस्थितिलाई ध्यानमा राख्दै दिल्लीमा करिब ३० हजार सुरक्षाकर्मी परिचालन गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
सम्मेलनका लागि सेन्ट्रल दिल्लीका १२ देखि १५ वटा प्रिमियम पाँचतारे होटलमा विदेशी पाहुनाका लागि करिब ३ हजार ५ सय कोठा तयार पारिएको छ। रुसी राष्ट्रपति पुटिन आईटीसी मौर्यामा तथा चिनियाँ राष्ट्रपति सी जिनपिङको टोली ताज प्यालेसमा बस्ने तयारी गरिएको छ। अन्य राष्ट्रप्रमुखका लागि पनि दिल्लीका प्रमुख लक्जरी होटलहरूमा विशेष व्यवस्था गरिएको छ।
भीभीआईपी आवागमनलाई सुरक्षित बनाउन विमानस्थलदेखि भारत मण्डपमसम्मका प्रमुख सडकमा सुरक्षा कडाइ गरिएको छ। ३५ भन्दा बढी सडकमा प्रतिबन्ध तथा २२ स्थानमा सवारी डाइभर्सनको व्यवस्था गरिएको छ। सम्मेलन अवधिमा सरकारी कार्यालय, विद्यालय तथा अदालतसमेत बन्द रहने गरी दिल्लीको यातायात र प्रशासनिक गतिविधिलाई सीमित गर्ने तयारी गरिएको छ।
सुरक्षा व्यवस्थाअन्तर्गत अर्धसैनिक बलका करिब २०० कम्पनीसहित ३० हजारभन्दा बढी सुरक्षाकर्मी र ४ हजार ८ सय ट्राफिक प्रहरी परिचालन गरिएको छ। त्यस्तै, १०० भन्दा बढी राष्ट्रिय सुरक्षा गार्ड अर्थात् एनएसजी कमान्डो र दिल्ली प्रहरीको स्वाट टोलीलाई विशेष जिम्मेवारी दिइएको छ। आकस्मिक अवस्थाका लागि १० हजारभन्दा बढी सुरक्षाकर्मीलाई स्ट्यान्डबाइमा राखिएको बताइएको छ।
सम्मेलनअघि एनएसजी र स्वाटले ‘अपरेसन ब्रिक्स कवच’ अन्तर्गत विभिन्न स्थानमा सुरक्षा अभ्याससमेत गरेका छन्। सम्भावित आतंकवादी हमला, बन्धक अवस्था तथा अन्य आपत्कालीन परिस्थितिमा तत्काल प्रतिक्रिया जनाउने गरी सुरक्षा संयन्त्रलाई तयारी अवस्थामा राखिएको छ।
हवाई सुरक्षातर्फ पनि विशेष निगरानी बढाइएको छ। सम्मेलन अवधिमा दिल्लीको ३०० किलोमिटर क्षेत्रभित्र साना विमान तथा यूएभी उडानमा प्रतिबन्ध लगाइएको छ भने १०० किलोमिटर क्षेत्रभित्र ड्रोन, प्याराग्लाइडरलगायत हवाई उपकरण सञ्चालनमा रोक लगाइएको छ।
भारत मण्डपम तथा भीभीआईपी मार्गमा एन्टी-ड्रोन प्रणाली र इलेक्ट्रोनिक ज्यामरसमेत परिचालन गरिएको छ। सम्भावित साइबर हमला तथा ह्याकिङ रोक्न बहु-एजेन्सी संयन्त्र सक्रिय पारिएको छ भने एआईमा आधारित फेस रिकग्निसन क्यामेराबाट समेत निगरानी बढाइएको छ।
रुसी राष्ट्रपति पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङको व्यक्तिगत सुरक्षालाई पनि विशेष प्राथमिकता दिइएको छ। पुटिनको भ्रमणका क्रममा उनको व्यक्तिगत सुरक्षाकर्मी, विशेष भान्से, मोबाइल प्रयोगशाला तथा अन्य आवश्यक सामग्रीसमेत विशेष व्यवस्थासहित परिचालन हुने बताइएको छ।
पुटिनले बुलेटप्रुफ तथा ब्लास्ट-रेजिस्टेन्ट ‘ओरस सेनेट’ कार प्रयोग गर्ने तयारी गरिएको छ। त्यस्तै, सी जिनपिङका लागि विशेष बख्तरबन्द ‘होङ्की एन७०१’ कार चीनबाट विमानमार्फत ल्याउने तयारी गरिएको बताइएको छ। पुटिन र सीको सुरक्षाका लागि उनीहरूसँगै ठूलो संख्यामा व्यक्तिगत सुरक्षा अधिकारी तथा बडीगार्ड रहनेछन् भने उनीहरूलाई बहुस्तरीय सुरक्षा घेराभित्र राखिनेछ।