काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण देश शोक र विपद्को अवस्थामा रहेकाले नेपाली फिल्म ‘बा: एक योद्धा’को प्रदर्शन मिति पनि स्थगित गरिएको छ।
कृष्ण जन्माष्टमीको अवसर पारेर यही भदौ १९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मले पूर्वनिर्धारित मितिमा प्रदर्शन नगर्ने निर्णय गरेको हो। निर्माता कम्पनी आर्टिस्टिक इन्टरटेन्मेन्टका तर्फबाट निर्माता वसन्त लम्सालले सोमबार विज्ञप्ति जारी गर्दै देश विषम परिस्थितिसँग जुधिरहेका बेला फिल्म प्रदर्शन गर्नु उपयुक्त नदेखिएकाले मिति स्थगित गरिएको जानकारी दिएका छन्।
निर्माता लम्सालका अनुसार अब फिल्म आगामी क्रिसमस डेको छेको पारेर मंसिर २४ गते बिहीबारदेखि प्रदर्शनमा आउनेछ। यसैबीच, फिल्मका निर्माता लम्सालले रसुवा बाढीबाट प्रभावित तथा पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख १ हजार रुपैयाँ सहयोग गरेका छन्।
राष्ट्र शोकमा रहेका बेला सबै नेपाली एकजुट भएर राहत तथा उद्धार कार्यमा सहयोग गर्न आग्रह गर्दै लम्सालले देश तथा विदेशमा रहेका नेपालीलाई आ-आफ्नो तर्फबाट सहयोग गर्न अपिल गरेका छन्। हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको ‘बास् एक योद्धा’मा दिव्यदेव, झरना थापा, सुहाना थापा, सागर खनाल, सुप्रज्ञा शर्मा, शिशिर सिवाकोटी, शवी थापा, अनिल बुढाथोकी, माओत्से गुरुङ, अन्जन ढकाललगायत कलाकारको अभिनय रहेको छ।
फिल्मले सन्तानका लागि बुबाले गर्ने त्याग, संघर्ष र समर्पणको कथालाई प्रस्तुत गरेको निर्माण पक्षले जनाएको छ।रसुवाको बाढीपछि देशमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै पछिल्लो समय विभिन्न नेपाली फिल्मले आफ्नो पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित गर्दै आएका छन्।