काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले नेपाल यात्रा गर्ने आफ्ना नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। नेपालमा समग्र सुरक्षा अवस्था स्थिर रहे पनि नागरिक अशान्ति तथा स्थानीय स्तरमा अचानक प्रदर्शन हुन सक्ने जोखिम अझै कायम रहेको भन्दै मन्त्रालयले यात्रा चेतावनी जारी गरेको हो।
अमेरिकी विदेश मन्त्रालयले दुई दिनअघि अद्यावधिक गरेको ‘ट्राभल एडभाइजरी’मा नेपाललाई लेभल-२ अर्थात् ‘बढ्दो सतर्कता अपनाउनुपर्ने’ सूचीमा राखेको छ।
मन्त्रालयका अनुसार सेप्टेम्बर २०२५ मा सुरु भएका देशव्यापी प्रदर्शनहरू हाल रोकिएका छन्। यद्यपि विशेषगरी सहरी क्षेत्रमा प्रदर्शन तथा स्थानीय अशान्ति अचानक हुन सक्ने जोखिम कायमै रहेको अमेरिकी विदेश मन्त्रालयको चेतावनी छ।
प्रदर्शनहरू थोरै वा कुनै पूर्वसूचनाबिनै सुरु हुन सक्ने र ती छिट्टै हिंसात्मक बन्न सक्ने भन्दै अमेरिकी नागरिकलाई ठूलो भीडभाड तथा प्रदर्शनबाट टाढा रहन सुझाव दिइएको छ। साथै स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गरेका निर्देशन पालना गर्न पनि आग्रह गरिएको छ।
रसुवाको सीमावर्ती क्षेत्रमा नजान आग्रह
अमेरिकी विदेश मन्त्रालयले रसुवाको रसुवागढी-टिमुरे-स्याफ्रुबेँसी क्षेत्र तथा नेपाल-चीन सीमा नाकातर्फ यात्रा नगर्न आफ्ना नागरिकलाई आग्रह गरेको छ।
भोटेकोशी नदीमा आएको भीषण बाढीबाट उक्त क्षेत्रमा ठूलो क्षति भएको, यातायात तथा सञ्चार सेवा प्रभावित रहेको र खोज तथा उद्धार तथा पुनःस्थापना कार्य जारी रहेकाले क्षेत्रलाई उच्च जोखिमयुक्त मानिएको हो।
बाढीपछि थप बाढी तथा पहिरोको जोखिमसमेत कायम रहेकाले उक्त क्षेत्रमा अनावश्यक यात्रा नगर्न अमेरिकी नागरिकलाई सुझाव दिइएको छ।
नेपालको स्वास्थ्य सेवाबारे पनि सतर्कता
अमेरिकी विदेश मन्त्रालयले नेपालको स्वास्थ्य सेवा प्रणालीको सीमित क्षमताबारे पनि चिन्ता व्यक्त गरेको छ।
काठमाडौंका अस्पताल अन्य क्षेत्रको तुलनामा सुविधासम्पन्न भए पनि अस्पतालमा भीडभाड हुन सक्ने, आवश्यक उपकरण तथा औषधिको अभाव हुन सक्ने र उपचार सुरु गर्नुअघि नै भुक्तानी गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनीमा उल्लेख छ।
नेपाल सरकारले विदेशी नागरिकको उपचार खर्च व्यहोर्ने व्यवस्था नगरेको भन्दै अमेरिकी नागरिकलाई आवश्यक औषधि साथमा राख्न तथा स्वास्थ्य र आपत्कालीन उद्धारसमेत समेटिएको यात्रा बीमा गर्न सुझाव दिइएको छ। गम्भीर उपचार आवश्यक परेको अवस्थामा अर्को देशमा उपचारका लागि जानुपर्ने अवस्था आउन सक्ने भएकाले त्यसका लागि पनि तयारी अवस्थामा रहन भनिएको छ।
बाढी, पहिरो र भूकम्पको जोखिम
अमेरिकी विदेश मन्त्रालयले नेपाललाई प्राकृतिक विपद्को उच्च जोखिममा रहेको देशका रूपमा समेत उल्लेख गरेको छ। नेपालमा भूकम्प, बाढी तथा पहिरोको जोखिम नियमित रूपमा रहने र काठमाडौं उपत्यका पनि भूकम्पको जोखिममा रहेको चेतावनीमा उल्लेख छ।
विशेषगरी जुनदेखि सेप्टेम्बरसम्मको मनसुन अवधिमा भारी वर्षाका कारण आकस्मिक बाढी र पहिरो आउन सक्ने भन्दै यात्रुहरूलाई सावधानी अपनाउन आग्रह गरिएको छ।
यस्ता प्राकृतिक विपद्का कारण सडक अवरुद्ध हुनुका साथै भवन तथा पूर्वाधारमा क्षति पुग्न सक्ने र आपत्कालीन अवस्थामा आवश्यक सहायता प्राप्त गर्नसमेत कठिनाइ हुन सक्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।
नेपाल यात्रा गर्ने आफ्ना नागरिकलाई यात्रा अघि स्थानीय सुरक्षा तथा मौसमसम्बन्धी सूचना नियमित रूपमा अद्यावधिक राख्न र सम्भावित प्राकृतिक विपद् तथा आकस्मिक अवस्थाका लागि आवश्यक तयारी गर्न पनि अमेरिकी विदेश मन्त्रालयले सुझाव दिएको छ।