काठमाडौं । संविधान सभा सदस्य परिषद् नेपालले विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि अन्तर्राष्ट्रिय समुदाय र दातृ निकायसँग सहयोग गर्न अपिल गरेको छ।
परिषद्का महासचिव दीपकप्रसाद कुइँकेलले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै विपद्को यस कठिन घडीमा नेपाललाई आवश्यक सहयोग उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदाय तथा मित्रराष्ट्रहरूसँग आग्रह गरेका हुन्।
परिषद्ले विपद् प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि राजनीतिक दल, भ्रातृ संघ-संगठन, शुभेच्छुक संस्था, निजी क्षेत्र, उद्योग व्यवसायी, वित्तीय संस्था, मित्रराष्ट्र, अन्तर्राष्ट्रिय समुदाय तथा अन्तर्राष्ट्रिय दातृ निकायलाई सहयोगका लागि आह्वान गरेको छ।
विज्ञप्तिमा प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सबै पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गरिएको छ।
स्थानीय बासिन्दालाई संयमता अपनाउन आग्रह
परिषद्ले विपद्को कठिन परिस्थितिमा स्थानीय बासिन्दालाई विशेष सावधानी अपनाउँदै संयमता र धैर्यका साथ एक-अर्कालाई सहयोग गर्न पनि आग्रह गरेको छ।
गत १० गते बिहान आएको आकस्मिक बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको परिषद्ले जनाएको छ।
विनाशकारी बाढीका कारण सयौँ नागरिकको मृत्यु भएको, हजारौँ बेपत्ता तथा घाइते भएको र ठूलो संख्यामा परिवार विस्थापित भएको परिषद्को भनाइ छ।
सुरक्षित आवास र उचित क्षतिपूर्तिको माग
परिषद्ले बाढी प्रभावित नागरिकका लागि तत्काल खोजी तथा उद्धारलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएको छ।
त्यस्तै, प्रभावित परिवारलाई राहत, सुरक्षित आवास तथा उचित क्षतिपूर्तिको व्यवस्था गर्दै दीर्घकालीन पुनर्स्थापनाको काम अघि बढाउन पनि परिषद्ले सरकारसँग आग्रह गरेको छ।
विपद्पछिको पुनर्निर्माण र पुनर्स्थापनाका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट आवश्यक स्रोत र सहयोग जुटाउनुपर्नेमा परिषद्ले जोड दिएको छ।