काठमाडौं । नेपाली ओडीआई क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि आफ्नो एक महिनाको तलब विपद् राहत कोषमा दिने घोषणा गरेका छन्।
मलेसियामा एसीसी प्रिमियर कपका लागि नेपाली टोलीको नेतृत्व गरिरहेका सन्दीपले क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक १ लाख २० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बताएका हुन्।
सन्दीपले सामाजिक सञ्जालमार्फत आफूहरू देशबाट टाढा रहे पनि मन भने नेपालमै रहेको उल्लेख गर्दै विपद्को कठिन घडीमा प्रभावित नागरिकप्रति सहानुभूति व्यक्त गरेका छन्। उनले एसीसी प्रिमियर कपभरि नेपालको प्रदर्शनलाई बाढीपहिरो प्रभावित नागरिक तथा बालबालिकाप्रति समर्पित गर्ने घोषणा पनि गरेका छन्।
हरेक विकेट र बाउन्ड्रीमा थप सहयोग
सन्दीपले आफ्नो तलब मात्र नभई मैदानमा नेपालको प्रदर्शनसँग जोडेर थप सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।उनका अनुसार प्रतियोगिताभर नेपालले लिने प्रत्येक विकेटबापत १ हजार ५०० रुपैयाँ तथा हरेक चौका र छक्काबापत पनि १ हजार ५०० रुपैयाँ बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि सहयोग गरिनेछ।
यसबाट संकलन हुने रकम प्रभावित बालबालिकाका लागि आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउन प्रयोग गरिने बताइएको छ। ‘उनीहरूको सपना कुनै बाढीले बगाउन सक्दैन’ भन्दै सन्दीपले हरेक विकेट, हरेक बाउन्ड्री र हरेक हुटिङ नेपालकै लागि हुने उल्लेख गरेका छन्।
क्यानले पनि ३० लाख सहयोग गर्ने
यसअघि नेपाल क्रिकेट संघ (क्यान) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरिसकेको छ। एसीसी प्रिमियर कपमा नेपालले समूह चरणमा बहराइन, साउदी अरेबिया, मलेसिया र हङकङसँग प्रतिस्पर्धा गर्नेछ।
देशमा बाढीपहिरोबाट ठूलो जनधनको क्षति भइरहेका बेला राष्ट्रिय टोलीका कप्तान सन्दीपको यो घोषणालाई खेलकुद क्षेत्रबाट विपद् प्रभावित नागरिकप्रतिको ऐक्यबद्धताका रूपमा हेरिएको छ।