काठमाडौं । बाढीपहिरोबाट प्रभावित नेपालका क्षेत्रमा खोजी, उद्धार तथा राहत कार्यका लागि भारतले पठाएको चौथो खेप सहायता नेपाल आइपुगेको छ।
भारतीय विदेशमन्त्री डा. एस. जयशंकरका अनुसार ११ टन राहत सामग्री तथा प्राविधिक टोलीसहितको चौथो विमान नेपालतर्फ पठाइएको हो। भारतीय वायुसेनाको सी-१३० विमानमार्फत विपद् व्यवस्थापन तथा उद्धारका लागि आवश्यक सामग्री र विशेषज्ञ टोली नेपाल आइपुगेको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ।
भारतले पठाएको सहयोगमा सुरुङभित्र उद्धार तथा खोजी कार्यका लागि आवश्यक उपकरणसहितको प्राविधिक टोली पनि रहेको छ। बाढीपहिरोका कारण विभिन्न क्षेत्रमा मानिसहरू सुरुङ तथा अन्य संरचनाभित्र फसेको अवस्थामा उक्त टोलीले उद्धार कार्यमा सहयोग गर्ने बताइएको छ। त्यस्तै, बाढीपहिरोमा ज्यान गुमाएकाहरूको पहिचानका लागि डीएनए विश्लेषण गर्न आवश्यक उपकरणसहित फरेन्सिक विशेषज्ञहरूको टोली पनि नेपाल आइपुगेको छ।
राहत सामग्रीअन्तर्गत ब्ल्याङ्केट, स्लिपिङ ब्याग, त्रिपाल, प्लास्टिकका सिट, सरसफाइका सामग्रीलगायतका अत्यावश्यक सामग्री नेपाल ल्याइएको छ।
२३० फिट लामो स्टिल ब्रिजका उपकरण नेपालतर्फ
बाढीपहिरोका कारण सडक तथा पुलहरूमा ठूलो क्षति पुगेपछि यातायात सञ्चालन सहज बनाउन भारतले संरचनागत सहयोगसमेत अघि बढाएको छ।
विदेशमन्त्री जयशंकरका अनुसार २३० फिट लामो सिंगल लेन मोड्युलर स्टिल ब्रिज निर्माणका लागि आवश्यक उपकरण बोकेका १६ वटा ट्रक नेपालतर्फ प्रस्थान गरिसकेका छन्।
यसका अतिरिक्त थप सातवटा बेली ब्रिजका उपकरण तथा ती पुल जडान गर्ने प्राविधिक टोलीसमेत छिट्टै नेपाल आइपुग्ने उनले बताएका छन्।
काठमाडौंमा ६८.५ टन राहत सामग्री
भारतले बाढीपहिरो प्रभावित नेपालका लागि हालसम्म ६८.५ टन राहत सामग्री हवाई मार्गबाट काठमाडौं ल्याइसकेको जनाएको छ।
यसअघि पठाइएका सहयोग सामग्रीमा अत्यावश्यक औषधि, पोर्टेबल जेनेरेटर, तयारी खानाका प्याकेट, पानी शुद्धीकरण गर्ने ट्याब्लेट तथा विभिन्न प्राविधिक उपकरणहरू रहेका छन्।
विदेशमन्त्री जयशंकरले नेपालको विपद् व्यवस्थापन, खोजी तथा उद्धार प्रयासमा भारतको निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन्।