काठमाडौं । चीनको तिब्बत स्वायत्त क्षेत्रअन्तर्गत केरुङ सीमा नाकामा आएको भीषण बाढीमा परी १०४ जना नेपाली नागरिक बेपत्ता भएका छन्।
चिनियाँ सरकारी सञ्चारमाध्यम सीजीटीएनका अनुसार आइतबार बिहान आयोजित पत्रकार सम्मेलनमा केरुङ क्षेत्रमा बाढीका कारण विभिन्न देशका नागरिक सम्पर्कविहीन भएको जानकारी सार्वजनिक गरिएको हो। प्राप्त विवरणअनुसार बाढीमा परी कुल २६१ जना विदेशी नागरिक सम्पर्कविहीन भएका छन्। तीमध्ये सबैभन्दा ठूलो संख्या नेपाली नागरिकको रहेको छ। १०४ नेपालीपछि भारतका ४९ जना नागरिक बेपत्ता भएका छन्।
त्यस्तै, लाटभियाका ३३, अमेरिकाका १८, बेलायतका १५, अस्ट्रेलिया र क्यानडाका ६र६, दक्षिण अफ्रिकाका ४ तथा जर्मनी, मलेसिया र रूसका ३र३ जना नागरिक सम्पर्कविहीन भएका छन्। इस्टोनिया, फ्रान्स, आयरल्यान्ड, नेदरल्यान्ड्स र न्युजिल्यान्डका २र२ जना तथा फिनल्यान्ड, हंगेरी, काजाकिस्तान, लिथुआनिया, पोर्चुगल, स्पेन र युक्रेनका १-१ जना नागरिक पनि बेपत्ता रहेको चिनियाँ सञ्चारमाध्यमले जनाएको छ।
चिनियाँ अधिकारीहरूले बेपत्ता भएका विदेशी नागरिकबारे सम्बन्धित देशका दूतावास तथा वाणिज्य दूतावासलाई जानकारी गराइसकेको बताएका छन्। यसैबीच, आइतबार बिहानको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार हाल केरुङ काउन्टीमा कुनै पनि विदेशी पर्यटक अलपत्र अवस्थामा नरहेको चिनियाँ अधिकारीहरूले बताएका छन्।
केरुङ क्षेत्रमा आएको बाढीले नेपाल-चीन सीमा क्षेत्रमा समेत ठूलो क्षति पुर्याएको छ। बाढीका कारण नेपाली नागरिकसमेत ठूलो संख्यामा सम्पर्कविहीन भएपछि उनीहरूको खोजी तथा अवस्थाबारे थप विवरणको प्रतीक्षा भइरहेको छ।