काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये शनिबार दिउँसो ४ बजेसम्म ६६९ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढीपछि विभिन्न जिल्लामा ती शव फेला परेका हुन्।
प्रहरीका अनुसार सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन्। चितवनमा मात्रै २४८ जनाको शव बरामद भएको छ। त्यस्तै, पूर्वी नवलपरासीमा १५८, पश्चिम नवलपरासीमा ७५, धादिङमा ४९, गोरखामा ५४, नुवाकोटमा ४१, तनहुँमा ३१ र रसुवामा १३ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
बाढीको तीव्र बहावले शवहरू तल्लो तटीय क्षेत्रका विभिन्न जिल्लासम्म पुर्याएको थियो। त्यसकारण घटनास्थल रसुवा तथा आसपासका क्षेत्रभन्दा टाढा रहेका जिल्लाहरूमा समेत ठूलो संख्यामा शव फेला परेका छन्। प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म २ हजार ३०१ जनाको उद्धार गरिएको छ। उद्धार कार्यसँगै बेपत्ता व्यक्तिहरूको खोजी तथा पहिचानको कामसमेत जारी रहेको छ।
यसैबीच, प्रहरीको पछिल्लो तथ्यांकअनुसार २७ जना प्रहरीसमेत बेपत्ता छन्। बाढी तथा पहिरोका कारण सुरक्षाकर्मीहरू समेत प्रभावित भएपछि खोजी तथा उद्धार अभियानमा थप चुनौती देखिएको छ। विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितका सुरक्षा निकाय उद्धार तथा खोजी कार्यमा परिचालित छन्। बाढीका कारण सडक, पुल तथा अन्य भौतिक संरचनामा क्षति पुगेकाले कतिपय क्षेत्रमा उद्धार तथा खोजी कार्य कठिन बनेको छ।
बेपत्ता व्यक्तिको खोजी, फेला परेका शवको पहिचान तथा उद्धार कार्यलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ। घटनाको मानवीय क्षतिको वास्तविक विवरण अझै संकलनकै क्रममा रहेकाले मृतक तथा बेपत्ताको संख्या थप बढ्न सक्ने देखिएको छ।