काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार कार्यलाई तीव्र पारिएको नेपाल प्रहरीले जनाएको छ। बाढीका कारण विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको छ भने अझै केही व्यक्ति सम्पर्कविहीन छन्।
प्रहरीका अनुसार बाढी प्रभावित विभिन्न जिल्लाबाट हालसम्म १ सय ६२ जनाको शव फेला परेको छ। फेला परेका शवमध्ये रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६४, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा २६ र नवलपरासी पश्चिममा २ वटा रहेका छन्।
यस्तै, बाढीमा परी घाइते भएका ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। त्रिवि शिक्षण अस्पतालमा २० जना, त्रिशुली अस्पतालमा ९ जना, ट्रमा सेन्टरमा ४ जना, वीर अस्पतालमा ३ जना, नर्भिक अस्पतालमा ३ जना, वीर सैनिक अस्पतालमा १ जना र ग्रिन सिटी अस्पतालमा १ जनाको उपचार भइरहेको छ।
प्रहरीका अनुसार बिहीबार बिहान ५ बजेसम्म बाढी प्रभावित विभिन्न प्रहरी कार्यालयमा कार्यरत २८ जना प्रहरी कर्मचारीसमेत सम्पर्कविहीन छन्। उनीहरूको खोजी तथा उद्धारका लागि समेत प्रयास भइरहेको प्रहरीले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यका लागि ३ हजार ३ सय १८ प्रहरी परिचालन गरिएको छ। प्रभावित क्षेत्रमा उद्धार कार्यलाई थप प्रभावकारी बनाउँदै बेपत्ता व्यक्तिको खोजी तथा क्षतिको विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।
बाढीका कारण प्रभावित क्षेत्रमा सडक, पुल तथा अन्य भौतिक संरचनामा समेत क्षति पुगेपछि उद्धार तथा राहत व्यवस्थापनमा चुनौती थपिएको छ। प्रहरीले प्रभावित क्षेत्रमा आवश्यक समन्वय र उद्धार कार्यलाई प्राथमिकताका साथ अघि बढाइरहेको जनाएको छ।