काठमाडौं । तिब्बती क्षेत्रमा गएको भूकम्पपछि हिमपहिरो खसेका कारण रसुवामा अचानक बाढी आएको हुनसक्ने प्रारम्भिक सूचना प्राप्त भएको सरकारले जनाएको छ।
प्रतिनिधि सभाको बैठकमा घटनाबारे जानकारी दिँदै परराष्ट्रमन्त्री शिशिर खनालले बिहान ८ बजेर ३७ मिनेटमा उक्त क्षेत्रमा भूकम्प गएको सूचना प्राप्त भएको र त्यसपछि हिमपहिरो खसेर बाढी आएको प्रारम्भिक जानकारी सरकारसमक्ष आएको बताए। मन्त्री खनालका अनुसार बिहान करिब ८ बजेर ४० मिनेटमा रसुवातर्फ अचानक बाढी आएको थियो। उनले हिमपहिरोका कारण बाढी आएको विषयलाई थप प्रमाणीकरण गर्न आवश्यक रहेको स्पष्ट पारे।
“प्रारम्भिक सूचना अनुसार ८ बजेर ३७ मिनेटमा त्यो क्षेत्रमा भूकम्प गएको र भूकम्पले हिमपहिरो झरेको र त्यसका कारण बाढी आएको प्रारम्भिक सूचना आएको छ,” मन्त्री खनालले संसदमा भने, “त्यसलाई थप भेरिफाइ गर्नुपर्ने आवश्यकता देखिन्छ।” अचानक आएको बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेसीलगायतका क्षेत्रमा ठूलो क्षति पुगेको सरकारले जनाएको छ। बाढीको प्रभाव नुवाकोटको त्रिशूली, बेत्रावती र बट्टार क्षेत्रसम्म परेको मन्त्री खनालले संसदमा जानकारी दिए।
बाढीका कारण विभिन्न भौतिक संरचनामा क्षति पुगेको छ भने नदी तथा खोलाको तटीय क्षेत्रमा रहेका बस्तीसमेत प्रभावित भएका छन्। घटनापछि उद्धार तथा राहतका लागि सम्बन्धित निकाय परिचालन गरिएको सरकारले जनाएको छ। मन्त्री खनालले घटनामा परी केही नेपालीले ज्यान गुमाइसकेको सूचना सरकारलाई प्राप्त भएको समेत संसदलाई जानकारी दिए। यद्यपि, मानवीय क्षतिको विस्तृत विवरण संकलन हुन बाँकी रहेको छ।
सरकारले बाढीको वास्तविक कारण, क्षतिको अवस्था तथा प्रभावित क्षेत्रबारे थप विवरण संकलन तथा प्रमाणीकरण गरिरहेको जनाएको छ। प्रारम्भिक रूपमा भूकम्पपछि हिमपहिरो खसेर बाढी आएको भनिए पनि घटनाको यकिन कारण सम्बन्धित निकायको थप अध्ययनपछि मात्र स्पष्ट हुने देखिएको छ।