काठमाडौं । संगीतकार हरि लम्सालको डेब्यू निर्देशकीय फिल्म ‘बा : एक योद्धा’को ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच फिल्मको करिब साढे दुई मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो।
ट्रेलरले फिल्मको कथावस्तुको झलक दिँदै एउटा खुसीयाली मध्यमवर्गीय परिवारमा आइपर्ने संकट र त्यसले परिवारमा ल्याउने विग्रहलाई प्रस्तुत गरेको छ। विशेषगरी परिवारको जिम्मेवारी बोकेको बाबुको संघर्ष, त्याग र भावनात्मक अवस्थालाई ट्रेलरमा प्राथमिकता दिइएको छ।
ट्रेलरको केन्द्रमा अभिनेता दिव्यदेव छन्। उनी फिल्ममा दुई सन्तानका पिताको भूमिकामा देखिएका छन्। छोरीको बिहेका लागि लिएको ऋणले परिवारको आर्थिक अवस्था कमजोर हुँदै जाँदा त्यसले पारिवारिक सम्बन्धमा समेत पार्ने प्रभावलाई ट्रेलरमा देखाइएको छ। परिवारको खुसी, आर्थिक संकट, सम्बन्धमा आउने उतारचढाव र बाबुको संघर्षलाई भावनात्मक रूपमा प्रस्तुत गरिएको ट्रेलरले फिल्म पारिवारिक कथामा आधारित रहेको संकेत गर्छ।
श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर भदौ १९ गतेदेखि प्रदर्शनमा आउने फिल्ममा दिव्यदेवसँगै झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, सागर खनाल, सुप्रज्ञा शर्मा, शिशिर सिवाकोटी, अनिल बुढाथोकी, चन्द्र नेपाल र करण शाहलगायत कलाकारको अभिनय छ।
गायक वसन्त लम्सालले निर्माण गरेको फिल्म यसअघि उनले निर्माण गरेको ‘कर्मा’पछि दोस्रो चलचित्र हो। आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता अनिल बुढाथोकी, लाइन प्रोड्युसर अर्जुन पौडेल र सह-निर्माता कृष्ण काफ्ले हुन्।
फिल्ममा शिवराम श्रेष्ठको छायांकन, मित्र डी गुरुङको सम्पादन, हरि लम्सालको संगीत, सुरेन राईको कोरियोग्राफी, नवीन श्रेष्ठको ध्वनि संयोजन तथा रोमन बज्राचार्यको पार्श्व ध्वनि रहेको छ।