काठमाडौं । बाराको जितपुरसिमरा-१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा काठमाडौंमा प्रदर्शन गरिएको छ। बालिकाको न्यायको माग गर्दै नागरिक, युवा, विद्यार्थी तथा अधिकारकर्मीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिले शनिबार प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा सहभागीहरूले बलात्कार तथा बालबालिकामाथि हुने जघन्य अपराधमा संलग्नलाई कडा कानुनी कारबाही गर्न माग गर्दै नाराबाजी गरेका थिए। उनीहरूले ‘बलात्कारीलाई फाँसी दे’ लगायतका नारा लगाउँदै दोषीलाई कठोर सजाय दिनुपर्ने माग गरे। प्रदर्शनकारीहरूले विभिन्न प्लेकार्डसमेत बोकेका थिए। ‘छोरी जन्मनु अपराध होरु’ तथा ‘जुन देशले आफ्ना बच्चाहरूलाई सुरक्षा दिन सक्दैन, त्यो देश विकासमा होइन लाजमा डुब्नुपर्छ’ लगायतका सन्देश लेखिएका प्लेकार्ड प्रदर्शनमा देखिएका थिए।
प्रहरीका अनुसार जितपुरसिमरा-१ दसधुरीकी मनमती चौधरीकी तीन वर्षीया छोरी गरिमा साउन ३१ गते बिहान घरबाट हराएकी थिइन्। खोजीका क्रममा उनको शव मंगलबार एउटा घरको खाली कोठामा फेला परेको थियो। घटनापछि प्रहरीले अनुसन्धान अघि बढाउँदै आरोपितहरूलाई पक्राउ गरेको जनाएको छ। अभिभावकको जाहेरीका आधारमा थप चार जनालाई समेत नियन्त्रणमा लिइएको गृहमन्त्री सुधन गुरुङले जानकारी दिएका छन्।
घटनाले देशभर आक्रोश बढाएको छ। बालिकामाथि भएको जघन्य अपराधमा संलग्नलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने र अनुसन्धान निष्पक्ष रूपमा अघि बढाएर दोषीलाई कानुनी कठघरामा उभ्याउनुपर्ने माग प्रदर्शनकारीहरूले गरेका छन्। प्रदर्शनकारीहरूले मृत्युदण्डको मागसमेत अघि सारेका छन्। यद्यपि, नेपालमा मृत्युदण्डसम्बन्धी कानुनी व्यवस्था नरहेकाले दोषीलाई विद्यमान कानुनअनुसार अधिकतम र प्रभावकारी सजाय दिलाउनुपर्ने विषय पनि चर्चामा आएको छ।
गरिमा प्रकरणले बालबालिकाको सुरक्षा, प्रहरी अनुसन्धानको प्रभावकारिता तथा जघन्य अपराधमा राज्यको जवाफदेहितामाथि समेत गम्भीर प्रश्न उठाएको छ। प्रदर्शनकारीहरूले पीडित परिवारलाई न्यायको अनुभूति हुने गरी अनुसन्धान र कानुनी प्रक्रिया शीघ्र अघि बढाउन सरकारसँग माग गरेका छन्।