काठमाडौं । नेपाली फिल्म ‘गौँथली’ प्रदर्शनको छैटौँ सातामा प्रवेश गरेको छ। साउन १ गतेदेखि प्रदर्शनमा आएको फिल्मले छैटौँ सातासम्म आइपुग्दा २३ करोड रुपैयाँभन्दा बढी कमाइ गरेको निर्माण पक्षले जनाएको छ।
घर, परिवार, सम्बन्ध र आत्मीयताको भावलाई केन्द्रमा राखिएको फिल्मले लामो समयसम्म दर्शकको साथ पाउँदै आएको छ। प्रदर्शनको छैटौँ सातासम्म पनि फिल्मको व्यापार निरन्तर रहनुले यसको व्यावसायिक सफलतालाई देखाएको छ। फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ।
फिल्म गीतकार तथा स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालका छोरा डा. कपिल रिजालले ‘गौँथली’को निर्देशन गरेका हुन्। डा। भोला रिजालको कथामा आधारित फिल्मको पटकथा तथा संवाद डा। कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा लेखेका हुन्। फिल्मको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडीले गरेका छन्। नेपाली दर्शकमाझ राम्रो प्रतिक्रिया र व्यावसायिक सफलता हासिल गरेपछि फिल्मलाई अब विदेशमा समेत प्रदर्शन गर्ने तयारी गरिएको छ।
निर्माण पक्षका अनुसार ‘गौँथली’ जापानसहित विदेशका केही देशमा छिट्टै प्रदर्शनमा आउनेछ। नेपालमा छैटौँ सातासम्मको प्रदर्शन र २३ करोड रुपैयाँभन्दा बढीको कमाइपछि विदेश प्रदर्शनले फिल्मको बजारलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ।