काठमाडौं । आगामी असोज २ गते नेपाली फिल्मको बक्स अफिसमा त्रिपक्षीय भिडन्त हुने भएको छ। यसअघि ‘झिँगेदाउ २’ र ‘कार्की साइँला’बीच प्रतिस्पर्धा हुने तय भएको यो मितिमा अब ‘माया बस्छ कि क्या हो १’ पनि थपिएको छ।
निर्माण पक्षले शुक्रबार फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो। निर्माण सम्पन्न भएको करिब पाँच वर्षपछि फिल्म दर्शकमाझ आउन लागेको हो। सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार सोनाल तामाङ र कस्मता निरौलालाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ। दुवै कलाकारले यही फिल्मबाट अभिनयमा डेब्यू गर्दैछन्। पोस्टरले फिल्म नयाँ पुस्ताको प्रेमकथामा आधारित रहेको संकेत गरेको छ।
फिल्ममा सोनाल र कस्मतासँगै नरेन्द्र थापा, रिचा थापा, उपेन्द्र थापा, बेनी ढुंगाना, जेपी पाण्डे, तारा शर्मालगायत कलाकारको अभिनय रहेको छ। राजु अधिकारीको निर्देशनमा बनेको फिल्मका प्रस्तुतकर्ता शरद अधिकारी र निर्माता बहादुर सिंह तामाङ हुन्। फिल्मको कथा आरती अधिकारी आचार्यले लेखेकी छन् भने पटकथा तथा संवाद मौनता श्रेष्ठको रहेको छ।
रविन्द्र बरालको छायांकन, रामप्रसाद चौधरीको सम्पादन, अर्जुन पोखरेलको संगीत तथा कमल राई र रामजी लामिछानेको कोरियोग्राफी फिल्ममा रहेको छ। जनपुकार मिडिया हाउसको ब्यानरमा निर्माण भएको फिल्मको छायांकन काठमाडौं र चित्लाङका साथै बेल्जियम, स्वीजरल्याण्ड र नेदरल्याण्डमा गरिएको निर्माण पक्षले जनाएको छ।
प्रस्तुतकर्ता शरद अधिकारीका अनुसार दर्शकलाई प्रेमको फरक अनुभूति गराउने उद्देश्यले फिल्मको केही महत्वपूर्ण दृश्य युरोपका विभिन्न स्थानमा छायांकन गरिएको हो। अधिकारीले यसअघि ‘ब्ल्याकमेल’ र ‘डेस्टिनेशन काठमाडौं’ लगायतका फिल्म निर्माण गरिसकेका छन्।
अब असोज २ गते ‘माया बस्छ कि क्या हो १’ थपिएसँगै नेपाली फिल्मको प्रदर्शन तालिका थप प्रतिस्पर्धात्मक बनेको छ। एउटै मितिमा तीन फिल्म प्रदर्शनमा आउने भएपछि कुन फिल्मले दर्शकको बढी साथ पाउँछ भन्ने चासो बढेको छ।