काठमाडौँ । बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनीता आहुजाबीचको वैवाहिक विवादले नयाँ मोड लिएको छ। सुनीताले गोविन्दाविरुद्ध दायर गरेको सम्बन्धविच्छेदको मुद्दा फिर्ता लिएकी छन्।
गोविन्दाका म्यानेजर शशी सिन्हाले सुनीताले मुद्दा फिर्ता लिएको पुष्टि गरेका छन्। बुधबार, १९ अगस्ट २०२६ मा सुनीता छोरा यशवद्र्धन आहुजासहित मुम्बईको बान्द्रा परिवार अदालत पुगेकी थिइन्। अदालत पुगेकी सुनीतालाई पापाराजीले त्यहाँ आउनुको कारण सोध्दा उनले ठट्टा गर्दै आफू ‘जन्मदिन मनाउन आएको’ बताएकी थिइन्।
त्यसपछि गोविन्दाका म्यानेजर शशी सिन्हाले हिन्दुस्तान टाइम्ससँग कुरा गर्दै सुनीताले आफ्नो मुद्दा फिर्ता गरिसकेको जानकारी दिए। उनका अनुसार अहिले गोविन्दा र सुनीताबीचको सम्बन्ध सामान्य अवस्थामा फर्किएको छ।रिपोर्टअनुसार सुनीताले ५ डिसेम्बर २०२४ मा बान्द्रा परिवार अदालतमा हिन्दू म्यारिज एक्ट, १९ अन्तर्गत व्यभिचार, क्रुरता र परित्यागको आरोप लगाउँदै सम्बन्धविच्छेदको याचिका दायर गरेकी थिइन्।
गोविन्दा र सुनीताको विवाह सन् १९८७ मा भएको थियो। उनीहरूका दुई सन्तान छन्-छोरी टीना आहुजा र छोरा यशवद्र्धन आहुजा। पछिल्लो समय दुवैबीचको विवाद सार्वजनिक रूपमा समेत देखिन थालेको थियो। केही दिनअघि मात्रै सुनीताले गोविन्दालाई ‘सुगर ड्याडी’ भन्दै टिप्पणी गरेकी थिइन्। गोविन्दा आफ्नी आगामी फिल्म ‘रूपा’की सहकलाकार कोमल रानी स्वर्णकरसँग नजिकिएको चर्चाबीच सुनीताले पापाराजीसँग कुरा गर्दै गोविन्दाको आलोचना गरेकी थिइन्।
गोविन्दा र कोमललाई एकसाथ एयरपोर्टमा देखिएपछि सुनीताले गोविन्दा छोरीको उमेरकी युवतीसँग घुमिरहेको भन्दै असन्तुष्टि जनाएकी थिइन्। उनले व्यंग्य गर्दै ‘तिम्रो सुगर ड्याडी यति धनी छन् भने कम्तीमा राम्रा कपडा त लगाऊ’ भनेकी थिइन्। सुनीताको उक्त टिप्पणीपछि गोविन्दाले पनि उनलाई मनपरी नबोल्न चेतावनी दिएका थिए। यसले उनीहरूबीचको विवाद थप चर्चामा आएको थियो।
तर, अहिले सुनीताले डिभोर्सको मुद्दा फिर्ता लिएसँगै उनीहरूको वैवाहिक सम्बन्धमा आएको संकट तत्कालका लागि टरेको देखिएको छ। गोविन्दाका म्यानेजरले परिवारभित्रको विषय सार्वजनिक रूपमा आउनु दुःखद भएको बताउँदै अहिले भने दुवैबीच सबै ठीक रहेको दाबी गरेका छन्।