काठमाडौं । आगामी मार्च १४ मा अमेरिकामा आयोजना हुने ९९औँ एकेडेमी अवार्ड्स (ओस्कार)का लागि नेपालबाट फिल्म छनोट गर्न आवेदन माग गरिएको छ । नेपालका तर्फबाट ओस्कारमा फिल्म पठाउने छनोट समितिले मंगलबार सूचना जारी गर्दै मापदण्ड पूरा गरेका नेपाली फिल्मलाई आवेदन दिन आह्वान गरेको हो ।
समितिका अनुसार इच्छुक फिल्मले आगामी भदौ २२ गते अर्थात् सेप्टेम्बर ७, २०२६ भित्र आवेदन बुझाइसक्नुपर्नेछ ।ओस्कारको प्रतिस्पर्धामा सहभागी हुन फिल्मले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट सार्वजनिक प्रदर्शनको अनुमति पाएको हुनुपर्नेछ । साथै, २०८२ असोज १५ देखि २०८३ असोज १४ अर्थात् १ अक्टोबर २०२५ देखि ३० सेप्टेम्बर २०२६ सम्म नेपालका हलमा प्रदर्शन भएको हुनुपर्नेछ ।
फिल्म लगातार कम्तीमा सात दिनसम्म हलमा प्रदर्शन भएको हुनुपर्नेछ । अमेरिका तथा यसका भूभागबाहेक अन्य देशका हलमा टिकट काटेर लगातार सात दिन प्रदर्शन भएका फिल्मलाई समेत ओस्कारका लागि योग्य मानिनेछ । तर, हलमा सात दिन प्रदर्शनको मापदण्ड पूरा नभएको अवस्थामा बर्लिन, कान्स, टोरोन्टो लगायत ओस्कारले तोकेका आधिकारिक अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा ‘क्वालिफाइङ अवार्ड’ जितेको फिल्म पनि प्रतिस्पर्धाका लागि योग्य हुन सक्नेछ ।
छनोट समितिले फिल्मका निर्देशक, लेखक वा निर्मातामध्ये कम्तीमा एकजना नेपाली नागरिक हुनुपर्ने व्यवस्था गरेको छ । साथै, फिल्ममा नेपाली परिवेश झल्किएको हुनुपर्ने र ५० प्रतिशतभन्दा बढी संवाद नेपाली भाषामा हुनुपर्नेछ । फिल्ममा अनिवार्य रूपमा अङ्ग्रेजी सबटाइटलसमेत हुनुपर्नेछ । छनोटमा पर्ने फिल्मले ओस्कारले निर्धारण गरेका प्राविधिक मापदण्डसमेत पूरा गर्नुपर्ने समितिले जनाएको छ ।
नेपाली फिल्मले ओस्कारमा गैर-अंग्रेजी भाषी फिल्मको विधामा प्रतिस्पर्धा गर्दै आएका छन् । गत वर्ष मिलन चाम्स निर्देशित बायोपिक फिल्म ‘अञ्जिला’ले नेपालको प्रतिनिधित्व गरेको थियो । त्यसअघि ‘शाम्बाला’, ‘हल्कारा’, ‘ऐना झ्यालको पुतली’ र ‘बुलबुल’ लगायतका नेपाली फिल्मले पनि ओस्कारमा नेपालको प्रतिनिधित्व गरिसकेका छन् । यस वर्ष नेपालको प्रतिनिधित्व गर्ने फिल्म कुन बन्ने हो भन्नेमा नेपाली फिल्म क्षेत्रको चासो बढेको छ ।