काठमाडौं । रुसले गोप्य समुद्री मार्ग प्रयोग गर्दै इरानको घटेको सैन्य भण्डार पुनः भर्न सहयोग गरिरहेको दाबी सार्वजनिक भएको छ । एनबीसी न्युजले एक युरोपेली सरकारको दस्तावेज तथा भू-उपग्रह तस्बिरलाई उद्धृत गर्दै रुसले इरानतर्फ टीएनटी विस्फोटक, ड्रोनका पार्टपुर्जा, गोलाबारुद तथा ब्यालिस्टिक मिसाइल निर्माणमा प्रयोग हुन सक्ने सामग्री पठाइरहेको जनाएको छ ।
रिपोर्टअनुसार, रुसले क्यास्पियन सागर हुँदै इरानलाई सैन्य सामग्री आपूर्ति गरिरहेको छ । क्यास्पियन सागरमा रुस, इरान, काजाकिस्तान, तुर्कमेनिस्तान र अजरबैजानको पहुँच रहेकाले यो मार्ग पश्चिमी मुलुकको प्रत्यक्ष निगरानीबाट बच्न तुलनात्मक रूपमा सहज हुने बताइएको छ । क्यास्पियन सागरबाट आवतजावत गर्ने केही जहाजले आफ्नो ट्रयाकिङ सिस्टम बन्द गर्न सक्ने भएकाले तिनको गतिविधि पहिचान गर्न कठिन हुने रिपोर्टमा उल्लेख छ । यही कारण उक्त समुद्री मार्ग रुस-इरानबीचको सुरक्षित ‘ब्याकडोर’का रूपमा प्रयोग भइरहेको दाबी गरिएको छ ।
हालै अमेरिका र इजरायलसँग भएको युद्धका क्रममा इरानको सैन्य पूर्वाधार र हतियार भण्डारमा क्षति पुगेको थियो । त्यसपछि इरानले आफ्नो सैन्य क्षमता पुनःस्थापित गर्न रुस तथा चीनसँगको सैन्य एवं प्राविधिक सहकार्यलाई थप तीव्र बनाएको बताइएको छ । युक्रेन युद्धका क्रममा इरानले रुसलाई ‘शाहेद’ ड्रोन उपलब्ध गराएको थियो । अहिले भने रुसले इरानलाई सैन्य सामग्री उपलब्ध गराएर उसको घटेको भण्डार पुनःपूर्ति गर्न सहयोग गरिरहेको दाबी गरिएको छ ।
यसअघि इजरायलले इरानका महत्वपूर्ण बन्दरगाह तथा सैन्य आपूर्ति सञ्जाललाई समेत निशाना बनाएको थियो । ‘द टाइम्स अफ इजरायल’का अनुसार इजरायली आक्रमणमा बन्दर अञ्जली बन्दरगाहका केही संरचना तथा इरानी नौसेनासँग सम्बन्धित स्थानमा क्षति पुगेको थियो । उक्त बन्दरगाह इरानसम्म सैन्य सामग्री पुर्याउने समुद्री सञ्जालको महत्वपूर्ण हिस्सा मानिन्छ ।
यसबीच इरानले स्वदेशमा उत्पादन गर्ने ब्यालिस्टिक मिसाइलमा रुस र चीनमा निर्मित पार्टपुर्जाको प्रयोग बढाइरहेको दाबीसमेत गरिएको छ । यस्ता सामग्री विशेषगरी इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) को एरोस्पेस फोर्ससँग सम्बन्धित मिसाइल कार्यक्रमका लागि प्रयोग भइरहेको बताइएको छ । इरानले पछिल्लो समय पश्चिमी मुलुकमाथिको निर्भरता घटाउँदै रुस र चीनसँग सैन्य तथा प्राविधिक सहकार्य विस्तार गर्ने रणनीति अघि बढाएको छ । चीनबाट इरानले बेइदौ नेभिगेसन प्रणाली, राडार तथा निगरानी प्रविधि र ठोस इन्धनयुक्त मिसाइल उत्पादनमा प्रयोग हुने सामग्री प्राप्त गरिरहेको दाबी गरिएको छ ।
त्यस्तै, रुसले इरानलाई स्याटेलाइट तस्बिरसमेत उपलब्ध गराइरहेको बताइएको छ । यसले इरानी सेनालाई सैन्य गतिविधिको निगरानी तथा सम्भावित लक्ष्य पहिचान गर्न थप क्षमता प्रदान गर्न सक्ने विश्लेषण गरिएको छ । यद्यपि, रुस र इरानले यी आरोपबारे आधिकारिक प्रतिक्रिया दिएका छैनन् । रुसले यसअघि पनि इरानलाई गोप्य रूपमा सैन्य सामग्री आपूर्ति गरेको भन्ने समाचार अस्वीकार गर्दै आएको छ । मस्कोले घोषित सैन्य सहकार्यबाहेक इरानलाई अन्य सैन्य सामग्री उपलब्ध नगराएको दाबी गर्दै आएको छ ।
यदि पछिल्लो दाबी पुष्टि भएमा क्यास्पियन सागर हुँदै भइरहेको भनिएको सैन्य आपूर्ति रुस-इरानबीचको बढ्दो रणनीतिक सहकार्यको नयाँ आयामका रूपमा देखिन सक्छ ।