काठमाडौं । अण्डरग्राउन्ड साइफरदेखि हाउसफुल कन्सर्टसम्मको यात्रा तय गरिसकेको नेपाली हिपहप संगीत अब टेलिभिजनको ठूलो मञ्चमा प्रवेश गर्ने भएको छ। मलिन मिडियाले भारतीय फ्रेन्चाइज एमटिभी हसललाई नेपालमा ‘हसल बाइ नेपहप’ का रूपमा ल्याउने तयारी गरेको हो।
नेपाली टेलिभिजन च्यानलमार्फत प्रसारण हुने यो प्रिमियम र्याप रियालिटी शोले नेपाली हिपहप संगीत, कलाकार तथा हिपहप संस्कृतिलाई राष्ट्रियस्तरमा प्रस्तुत गर्ने लक्ष्य राखेको छ। कार्यक्रमलाई नेपालमा हिपहपका लागि छुट्टै ठूलो मञ्च सिर्जना गर्ने सुरुवाती प्रयासका रूपमा हेरिएको छ।
एक समय सीमित समूहको रुचिमा मात्रै केन्द्रित रहेको हिपहप पछिल्लो समय नेपाली युवामाझ लोकप्रिय संगीत विधाका रूपमा स्थापित हुँदै गएको छ। नयाँ पुस्ताका र्यापरहरूले ठूलो दर्शक तथा श्रोता बनाइरहेका छन् भने नेपाली र्याप गीतले डिजिटल प्लेटफर्ममा लाखौँ भ्युजसमेत पाउन थालेका छन्।
यही परिवेशमा आउन लागेको ‘हसल बाइ नेपहप’ ले नेपाली हिपहपलाई मूलधारको संगीत उद्योगमा थप मजबुत रूपमा स्थापित गर्न भूमिका खेल्ने अपेक्षा गरिएको छ। कार्यक्रम अन्तर्राष्ट्रिय रियालिटी शोको अवधारणामा आधारित हुनेछ, जहाँ प्रतिस्पर्धा, मेन्टरसिप र प्रतिभा प्रदर्शनलाई मुख्य आधार बनाइनेछ। यद्यपि कार्यक्रमको केन्द्रमा नेपाली कलाकारका आफ्नै आवाज, कथा, सामाजिक सन्दर्भ र स्थानीय हिपहप संस्कृति रहनेछ।
कार्यक्रमले स्थापित र्यापरसँगै नयाँ तथा सम्भावना बोकेका प्रतिभालाई राष्ट्रियस्तरमा आफ्नो कला प्रस्तुत गर्ने अवसर प्रदान गर्ने लक्ष्य लिएको छ। प्रस्तुति, कथा र प्रतिस्पर्धालाई एकै ठाउँमा जोडेर नेपाली हिपहप समुदायमा रहेका विविध प्रतिभा र सिर्जनात्मकतालाई उजागर गर्ने प्रयास गरिनेछ।
पछिल्लो समय नेपाली कलाकारहरूले अन्तर्राष्ट्रिय संगीत बजारमा समेत आफ्नो उपस्थिति विस्तार गरिरहेको अवस्थामा ‘हसल बाइ नेपहप’ को आगमनलाई नेपाली हिपहपको बढ्दो प्रभावको अर्को संकेतका रूपमा हेरिएको छ। यस कार्यक्रमले हिपहपलाई क्षणिक प्रवृत्तिका रूपमा मात्र नभई दीर्घकालीन सम्भावना बोकेको संगीत विधाका रूपमा स्थापित गर्न कति योगदान पुर्याउँछ भन्ने भने कार्यक्रम प्रसारणपछि देखिनेछ।