काठमाडौं । नेपाली फिल्म ‘गौँथली’ले घरेलु बक्स अफिसमा आक्रामक व्यापारलाई निरन्तरता दिँदै २३ करोड रुपैयाँभन्दा बढी ग्रस कमाइ गरेको छ। चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको सिनेपाः विवरणअनुसार ३१ साउनसम्म फिल्मले २३ करोड ५५ लाख १२ हजार ५०२ रुपैयाँ ग्रस व्यापार गरेको हो।
यस अवधिसम्म ‘गौँथली’का ८ लाख ५५ हजार ७५२ वटा टिकट बिक्री भएका छन्। फिल्मले पछिल्लो सात दिनमै ३ करोड ८४ लाख रुपैयाँभन्दा बढी कमाएको तथ्यांकले देखाएको छ। यसअघि २४ साउनसम्म फिल्मको व्यापार १९ करोड ७१ लाख ६ हजार ५ रुपैयाँ थियो। त्यसपछि एक सातामै झन्डै ४ करोड रुपैयाँ थप्दै फिल्मले आफ्नो व्यापारिक रफ्तार कायमै राखेको हो।
‘गौँथली’ले यसअघि नै ‘कबड्डी ४’को २१ करोड ४० लाख रुपैयाँको व्यापारलाई उछिन्दै नेपाली फिल्म इतिहासमा सर्वाधिक कमाउने फिल्मको सूचीमा दोस्रो स्थान हासिल गरिसकेको छ। अब ‘गौँथली’भन्दा अगाडि ‘पूर्णबहादुरको सारङ्गी’ रहेको छ। उक्त फिल्मले ४६ करोड ८७ लाख ४१ हजार रुपैयाँ ग्रस व्यापार गरेको थियो। शीर्ष स्थानमा पुग्न ‘गौँथली’ले अझै २३ करोडभन्दा बढी कमाउनुपर्नेछ।
फिल्मको पछिल्लो व्यापारिक गति हेर्दा ‘टक्सिक’ प्रदर्शनमा आउनुअघि अर्थात् १० भदौसम्म ‘गौँथली’ले २५ करोड रुपैयाँको आँकडा पार गर्न सक्ने अनुमान गरिएको छ।
‘हली’ र ‘कमला मिस’को व्यापार कति ?
चलचित्र विकास बोर्डले ‘गौँथली’सँगै साउन २२ गतेदेखि प्रदर्शनमा आएका ‘हली’ र ‘कमला मिस’को बक्स अफिस विवरण पनि सार्वजनिक गरेको छ। बोर्डको तथ्यांकअनुसार ‘हली’ले ७ हजार ७१० टिकट बिक्री गर्दै २१ लाख ७७ हजार ६० रुपैयाँ ग्रस कमाएको छ। त्यस्तै, ‘कमला मिस’ले ७१८ टिकट बिक्रीबाट २ लाख ६१ हजार ८४५ रुपैयाँ ग्रस व्यापार गरेको छ।
यस तथ्यांकले एकै समयमा प्रदर्शनमा आएका फिल्ममध्ये ‘गौँथली’को व्यापारिक दबदबा निकै बलियो रहेको देखाएको छ।