काठमाडौं । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘अक्षरा’ को तीज विशेष गीत ‘नाचौँ बरिलै’ सार्वजनिक गरिएको छ। लोकलयमा आधारित गीतले भगवान् शिवलाई पाउन पार्वतीले गरेको व्रतदेखि तीज पर्वमा महिलाले खुला मनले रमाउने परम्परालाई प्रस्तुत गरेको छ।
गीतमा गायिका समीक्षा अधिकारीको स्वर रहेको छ भने शब्द सुरेन्द्र रानाले रचना गरेका हुन्। गीतमा कर्णराज गिरीको संगीत रहेको छ। सार्वजनिक भिडियोमा फिल्मका मुख्य अभिनेत्री न्यान्सी खड्का र रिस्ता अधिकारीले आकर्षक नृत्य प्रस्तुत गरेका छन्। दुवै कलाकार सिउँदोमा सिन्दुरसहित देखिएकाले उनीहरूले फिल्ममा विवाहित महिलाको भूमिका निर्वाह गरेको संकेत मिल्छ। गीतको छायांकन काठमाडौंको गोकर्णेश्वरस्थित उत्तरवाहिनी मन्दिरमा गरिएको हो भने कोरियोग्राफी रामजी लामिछानेले गरेका छन्।
विनयराज पौडेलको निर्देशनमा बनेको फिल्ममा न्यान्सी खड्का, रिस्ता अधिकारी, सुशील सिटौला, सुशील पोखरेल, उत्तम केसी, अंशु महर्जन, पुष्कर राउत, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने, सृष्टि खड्का, रोनक खड्का, प्रीसा ढुङ्गाना र त्रिलोचन न्यौपानेलगायत कलाकारको अभिनय रहेको छ।
फिल्मकी प्रस्तुतकर्ता सोनी थापा (ढुङ्गाना) हुन् भने उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्माता रहेका छन्। कार्यकारी निर्मातामा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने छन्। फिल्ममा उग्रसेन ढुङ्गानाको कथा, अभिमन्यु निरवी र विनयराज पौडेलको पटकथा तथा संवाद, दिपेन बस्न्यातको छायांकन र गौतमराज खड्काको सम्पादन रहेको छ।